|
फाइल तस्वीर

काठमाडौँ : नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावित धेरै खेलाडी रहेकाले टी–२० विश्वकपका लागि अन्तिम १५ जना खेलाडी छान्नु चुनौतीपूर्ण रहेको बताएका छन्।

शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै नेपाललाई जित दिलाएपछि पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन्। 

आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गरे। त्यसैले टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उनको विश्वास छ। 

उनले क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा पनि राखे तर आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने उनको भनाइ छ।

आगामी १/२ खेलको प्रदर्शनले नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि रोहितले बताए।

 उनले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गरे। आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको तर सोचेअनुरूप ब्याटिङ भएको उनले बताए। उनले आज आफ्नो दिन थियो जस्तो लागेको पनि उल्लेख गरे।

कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताए। त्यसैले यो इनिङले टोलीमा आत्मविश्वास बढ्ने अपेक्षा उनको छ।

‘ओमानमा भएको खेलबाट निराश थियौँ। त्यहाँबाट अगाडि बढ्न आवश्यक थियो। त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन‚’ उनले भने, ‘त्रिवि मैदानमा २ सय रन चेज गर्न सकिन्छ भन्ने थियो, त्यही अनुरूप खेल्यौँ।’

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमणमा आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने तर आज रोहितले राम्रो प्रदर्शन गरेको बताए। 

पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये आजको प्रदर्शन एक रहेको प्रशिक्षकको बुझाइ छ। उनले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पारे। 

प्रशिक्षक मोन्टीले वेष्ट इण्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गरे।

वेष्ट इण्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्न आशा व्यक्त गरे। आफ्नो टोलीले राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.