|

पाँचथर : नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ। पाँचथर जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ लावती विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्‍याउन सफल भएको छ।

क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर लावती क्षेत्रीय सभापति चुनिएकी हुन्। लावतीले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गरेका छन्।

मिक्लाजुङ गाउँपालिकाकी लावती विभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गरेकी थिइन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट उनले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएकी हुन्। क्षेत्रीय कार्यसमितिमा लावतीको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।

लावती नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी भएका छन्। सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत भएका छन्। यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन्।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए। प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.