|

माथि जानु, यो भौतिक शरीरलाई बिदा गर्नु, पञ्च तत्वको शरीर पञ्च तत्व मै विलीन हुनु अनेक शब्दमा भनिन्छ मानिसको भौतिक अन्त्यलाई। यस्ता थुप्रै उपमा र परिभाषामा व्यक्त गरेपनि शाश्वत सत्य एउटै छ जीवनमा मृत्यु अनिवार्य शर्त हो। जन्म र मृत्यु बिचको सबै क्रियाकलाप एउटा मनुष्य हुनुको जिम्मेवारी हो। केहि पाउनु, भोग गर्नु र इहलिला समाप्त गर्नु मात्र नभई केहि दिएर जान सक्नु पनि जीवनको एउटा आकर्षक पाटो हो।

एउटा चाहना सबैलाई हुन्छ

आफ्नै मान्छेको साथ बाँच्ने रहर हुन्छ

थाहा सबैलाई छ नि तैपनि

माथि त एक्लै नै जानुपर्छ

आफ्ना र आफन्तको मृत्युको क्षण, आर्यघाट पुग्दा ५ मिनेट जति मौनतामा लैजान सक्ने यो शक्तिलाई १० मिनेट पछि फेरि जीवनकै हिसाबकिताब मिलाउन बाध्य हुन्छ मानिस। यो उसको बाध्यता हो या रोजाई ? यो सृष्‍टिमा ऊ मात्र एकल व्यक्ति अवश्य होइन जसले सारा भौतिक सुविधा र अवसर एक्लै प्राप्त गरोस्।

अस्तित्वको महानियम

अस्तित्वलाई राम्ररी थाहा छ हरेकको हिसाबकिताब कहाँनेर मिलाउनुपर्छ। व्यक्तिको चलाखीले छोटो बाटो खोजेपनि अस्तित्वको महानियममा त्यो हुँदैन। आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह उसले गर्नैपर्छ। गहिरिएर सोच्ने हो भने हरेक चतुर व्यक्तिले यसको अनुभूति जीवनमा गरिसकेका हुन्छन्। एकले अर्कोमाथि बठ्याइँ देखाउन माहिर भएपनि उसको अगाडि कसैले केहि गर्न सक्दैन। बरू बठ्याइँ नै गर्नुछ भने अस्तित्वको महानियम जान्ने र बोध गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ।

असत्य संसार असत्य देह हो

असत्यको भोग असत्य नै भयो

म सत्य आत्मा फिर जन्मने किन

तँलाई मालुम छ कि यो कुरा मन।

कविशिरोमणि लेखनाथ पौड्यालको बुद्धिविनोद भनौं या चिन्तन भनौं या प्रज्ञा। थोरै मात्र बुझ्ने प्रयास गर्ने हो भने जीवन, जीवनशैली, बाँच्ने तरिका, व्यवहार र लोभलालच के हो, किन आउछ, यसको परिणाम के भएको छ छर्लंग देखिन्छ त्यो व्यक्तिको जीवनमा होस् या राजनीतिक नेतृत्वमा। के मात्र घटना भएनन् र हुदैनन यो समाजमा जसले अस्थिरता र असुरक्षा सृजना गरेर सारा जनतालाई भ्रममा राख्न बाध्य गराएका छन्।

न साँध सीमा न त वारपार छ

गम्भीरताको न कुनै किनार छ

मडारिएको समतुल्य भैकन

तँलाई मालुम् छ कि यो कुरा मन।

द्वन्द र स्वार्थ

व्यक्ति भूगोलको सिमा, पदको सिमा, अवसरको सिमा, सम्पन्नताको सिमा आफ्नै पक्षमा पार्नको लागि जति दौडधूप गरेको छ नि त्यसको कारण नै मनको तृष्णा र द्वन्द्वले आफू हुनबाट पर पुगेको थाहै पाउँदैन।

पटकपटक विवेकको प्रयोग गर्न छाडेर मन र बुद्धि बिचको द्वन्द्वमै जीवन समाप्त गर्न तल्लिन रहन्छ त ? उसले शान्ति, प्रेम र आनन्द कहाँबाट पाउँछ ? आफ्नो चिन्तन, भाव र सीपलाई कहाँ प्रयोग गर्ने त्यसको भेउ नपाउनेले मृगतृष्णा रूपी दौडमै जीवनको उद्देश्य देखेको हुन्छ। त्यसो नहुँदो हो त–

मैं खाउ मैं लाऊ सुख शयल वा मोज म गरूँ

म बाचू मै नाचू अरु सब मरुन् दुर्बलहरु

भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी

चिता खित्का छाडी अभयसित हाँस्यो मरि मरी।

कतिखेर यसको बोध होला ? जीवन मै खाउ“, मै लाउ“, आफ्नै स्वार्थ, अरू प्रतिको करुणा नहुनु जस्तो दुर्भाग्यपूर्ण अवस्थाको परिणति चारैतिर देख्न पाइन्छ। माथि त एक्लै नै जानुपर्छ, सबै भौतिक सम्पन्नता यहिं छुट्छन् र जीवनको उत्तरार्द्धमा पश्चाताप बाहेक केहि रहन्न भन्ने बोध आउन सक्ने हो भने चौतर्फी विकास सम्भव छ।

स्व–स्थिरता, मृगतृष्णाबाट मुक्ति नै अस्थिरता अन्त्यको माध्यम हो। चारैतिर देखिएको समस्याको समाधान केवल व्यक्ति भित्र छिपेको छ। स्व–उत्प्रेरणा, स्व–सम्मान, शील, सकारात्मक जीवनशैलीको अभाव नै अराजकताको कारण हो, सहज उपाय जान्न कसैलाई मन छैन, किनकी धेरै दर्शन र राजनीति बुझेकाले आफैलाई बुझ्न जरूरी मान्दैनन्।

मंगल ग्रह कि जीवनमा मंगल

सहजता, सरलता, प्रेम, शान्ति र सहनशीलता त व्यक्तिबाट टाढा भैसक्यो। यि गुण टाढा हुदा साथमा के बाकी रहेका छन् हेक्का होला ? कठिन भाषण, कठिन ज्ञान, कठिन योजना, कठिन राजनीति, कठिन बुझाई हुनु विद्वताको मापन बनेको छ। संसारको ख्याल गर्नु दैनिकी बनेको छ। एकान्त, स्व–चिन्तन र साधनाको लागि बुढेसकाल पर्खेर बसेका छन्।

सम्मानको भोक छ। आत्मसम्मानको बोध सम्म छैन। चिन्तन जागृत हुन सके नकारात्मक विचारको चिन्ता कसरी फैलिन्थ्यो र ? मंगल ग्रहमा घर बसाउने सपना देख्ने मानिसले आफ्नो जीवनमा र आफ्नो कारणले अरूको जीवनमा मंगल कसरी बढाउने सोच्ने बिर्सियो। बेहोसीको डिग्री बढ्दै छ।

भौतिकता र धन संग्रह गर्ने लालसाले कतिको जीवनमा अन्याय भएको होला ? अहोभाव, धन्यवाद, उमंग, श्रद्धा भाव, आनन्द भावमा कहिले बाँच्ने ? त्यति धेरै कुशल अंक गणित पनि छैन सायद जीवनको आखिरी क्षणमा यि काम गरौंला भनेर छुट्याउन सकियोस्। एकातिर संग्रह र महत्वाकांक्षा मै जीवन देख्नेको भिड छ। अर्कोतिर, जीवनमा उदासी, अल्छि, दुःख र असफलता मात्र देख्नेको भिड छ। सम्यक र मध्य मार्गको कलाबाट अछुतो हुनुको नतिजा न हो यो।

सहजता कि कृत्रिम

सायद मुश्किल छ आफ्नो प्रयास र अनुशासन विना  हामीले चाहेका कुरा हात परून्। पूर्व तिर पाइला चालेर पश्चिम पुगिन्न। सागर तिर कदम चालेर सगरमाथा टेकिँदैन। म विकास चाहन्छु तर जीवनशैली बदल्न चाहन्न। म परिवर्तन चाहन्छु तर परम्परालाई त्याग्न सक्दिन। म स्वस्थ र मस्त रहन चाहन्छु तर अनुशासनमा रहन सक्दिन। सफलता चाहन्छु तर मिहिनेत गर्न सक्दिन।  सरलता र सहजता चाहन्छु तर तर्कसंगत छु। प्रेम, शान्ति र आनन्द चाहन्छु तर प्रेरणा लिन्‍न, साधना गर्दिन, सकारात्मक हुन सक्दिन। समानता भए पुग्छ तर न्यायसंगत छ कि छैन त्यता ध्यान छैन।

अधिकार अरूबाट पाउन चाहन्छु। अधिकारको प्रयोग गर्न चाहन्छु। तर आफैंमा उत्प्रेरित हुन सक्दिन। प्राकृतिक सुख चाहन्छु तर जीवनशैली पूरै देखावटी र कृत्रिम छ।। अस्तित्वको आफ्नो महानियम छ जसले सिकाएको छ कि– कर्मको विज्ञान अनुसार पनि कुनै कार्य गर्दा आफ्नो भाव अनुसारको प्रतिफल हामी प्राप्त गर्छौं। यदि कार्य आन्तरिक ऊर्जाको  कमी या अभावको जगबाट श्रृजित भएको छ। कर्मको प्रतिफल सफलतामुखी या सकारात्मक नभएर ठिक विपरीत हुन्छ।

हामी आफ्नो कार्य गर्दाको भाव अनुरुप समस्त ब्रह्माण्डबाट उर्जा प्राप्त गर्दछौं, जुनले कर्मलाई सदाका लागि प्रभाव पार्दछ। शान्ति, सम्पन्नता, खुसियाली र आनन्दको सोचबाट कर्म गर्दा त्यो कर्मका वरिपरि एउटा सकारात्मक वातावरणको निर्माण हुन्छ र कर्मको उद्धेश्य पूरा हुन जान्छ। हामी साधारणतया आफ्नो केहि कमी पूरा गर्न कर्म गर्छौं। यस्तो अवस्थामा हामी भित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित पार्छ र परिणाम सुखद हुन पाउँदैन।

जीवनको अन्तिम क्षणमा सुन्न चाहने के ?

सबैले थाहा पाएको कुरा न हो–सोचाईको शक्ति अजीव हुन्छ। हामीले धन चाहेको हो या पद, सुख शान्ति चाहेको हो या द्वन्द, जे चाहेका छौ त्यो प्राप्त गर्न सक्छौं। आफ्ना विचारहरूलाई सधै निर्देशन दिइराख्ने हो भने त्यसबाट जे चाह्यो त्यो पुरा हुन्छ।

सबै कर्मको फल हाम्रै विचारका परिणाम हुन् भने नराम्रो कर्मको फल पनि हाम्रै नराम्रा विचारका फल हुन् किनकि हामीले हाम्रो विचारलाई नकरात्मकता तिर पनि निर्देश गर्यौं। त्यसैले हामी राम्रो चाहन्छौं भने किन राम्रो सोचाई नगर्ने ? आखिर हाम्रा कर्मका फल हाम्रै सोचाइका परिणाम हुन्। 

सुनेको भरमा  कतिपय कुराको बोध हुदैन, हामीले आफै आर्जन गर्नुपर्छ। आर्जन गर्नको लागि सधै होस् पूर्ण भएर के गरिरहेका छौ ? के को लागि गरिरहेका छौ ? कहाँ गैरहेका छौ ? थाहा पाउनु जरूरी छ।  हामी कहाँ दौडिरहेका छौ थाहा छैन भने हामी कहि पनि गैरहेका छैनौ। 

एउटा हिन्दी फिल्ममा संवाद थियो –‘मैले मान्छे ओलम्पिक या सेनामा भर्ती हुदा दौडेको देखेको थिएँ। तर तिमी सधै केको लागि दौडिरहेका छौ ?’ के हामी पनि यस्तै गन्तब्य बिनाको दौड दौडिरहेका त छैनौ ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.