सर्लाही : सबैभन्दा बढी आँप खेती हुने अत्रौली र सासापुरका किसानलाई सिँचाई र प्राविधिक सहयोगको अभावमा खेती गर्न समस्या भएको छ।
सयौँ हेक्टरमा लगाइएको यस क्षेत्रको आँप खेतीमा यतिबेला पानीको अभावमा बतिला झर्ने समस्या भइरहेकाे किसानहरुले गुनासो गरेका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हरिवन–१, २, ३ र ४ साविकको अत्रौली र सासापुर गाविसका अधिकांश किसानले व्यावसायिक रुपमा आँप खेती गर्दै आएका छन्।
हरिवन–३ डाबरीका स्थानीय किसान ज्ञानबहादुर पुलामीले २ बिगाहा क्षेत्रफलमा व्यवसायिक रुपमा आँप खेती गर्दै आइरहेका छन्।
सिँचाइ अभावमा सोचेजस्तो फाइदा लिन नसकेको उनको गुनासो छ।
उनी भन्छन्, 'कुनै बर्ष समय समयमा बर्षा हुँदा आँप उत्पादन राम्रो हुन्छ, तर खडेरी लाग्यो भने उत्पादनमा कमी हुन्छ । यतिखेर मुजुरा सँगै सानो सानो आँपको दाना लागेको छ, पानी अति आवश्यक हुन्छ, अहिले बर्षा नहुँदा आँपको दाना झर्ने समस्या भइरहेको छ। पानी छैन, फूल र बतिलाको लागि भिटामिन र विषादीको आवश्यकता पर्छ, प्राविधिक ज्ञान छैन हचुवाको भरमा खेती भैरहेको छ।'
हरिवन–२ का अर्का किसान माधव मैनालीका अनुसार यहाँका अधिकांश किसानहरुले प्राविधिक ज्ञान बिना नै विषादीको प्रयोग गर्छन। 'जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाह अनुसार प्रयोग गर्छौ, जसबाट कहिलेकाहीँ फल झर्ने, फूल डढ्ने जस्ता समस्या समेत देखिन्छन्,' उनले भने।
यति खेर मुजुरा लागेको बतिला जोगाउनका लागि पर्याप्त सिँचाइको आवश्यकता पर्ने प्राविधिकहरू बताउँछन्।
यस बिषयमा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले सुख्खा क्षेत्र अत्रौली र सासापुरमा व्यवसायिक आँप खेती गर्ने किसानहरुका लागि प्राविधिक तालिम र डिप बोरिङ मार्फत सिँचाइको सुविधा पुर्याउने प्रयास भइरहेको बताए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।