|

सर्लाही : सर्लाहीमा दलका उम्मेदवारका आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न सकिरहेका छैनन्। वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन पत्र दर्ताको तालिका भएपनि दलहरूले शुक्रबारसम्म पनि नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छान्न नसकेका हुन्।

केही दलले केही वडामा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार सर्वसम्मत छानेका छन्। विभिन्न दलबाट एकल छनोट भएका उम्मेदवार यतिखेर भोट माग्न जनताका घरदैलोमा पुग्न थालेका छन्।

अधिकांश वडामा वडाध्यक्षकै लागि २ भन्दा बढीले दाबी गरेपछि उम्मेदवार छान्न दलहरूलाई सकस परिरहेको छ। वडाध्यक्ष र वडा सदस्यमा कतै कतै १२/१५ जनासम्मले दाबी गरेका छन्। जिल्लामा सत्ताधारी गठबन्धनबीच चुनावी तालमेल हुने नहुने भन्ने अन्योलता कायमै छ।

जिल्लास्तरीय समितिले गठबन्धन गर्ने अधिकार स्थानीय संयन्त्रलाई दिएको छ तर स्थानीय नेताबीच गठबन्धनका लागि केही दिनदेखि निरन्तर छलफल भएपनि भागबण्डा मिल्न नसक्दा अन्योल बढ्दै गएको छ।

विशेष गरी नगरपालिकाको मेयर र गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले दावी नछाड्दा सर्लाहीमा गठबन्धन हुने सम्भावना क्षीण हुँदै गएको नेताहरूले बताएका छन्। यसबाट नेकपा एमालेलाई फाइदा पुग्ने देखिएको छ।

चुनावी गठबन्धनका लागि दलहरू आज पनि छलफलमै जुटेका छन्। नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले कांग्रेसबाट १० गतेसम्म उम्मेदवार टुंगो लाग्ने बताए।

कांग्रेस सर्लाही क्षेत्र १ को बिहीबार बयलवासमा बसेको बैठकले ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकामा मेयर तथा उपमेयर र चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका आकांक्षीको नाम माथिल्लो तहमा सिफारिश गरेको क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए। नेकपा एमालेले बागमतीमा मेयर र उपमेयरमा एकल नाम सिफारिश गरे पनि अन्य पालिकामा उम्मेदवार छान्न सकेको छैन।

नगर कमिटीहरूबाट दुईभन्दा बढीको नाम आएको र जिल्ला कमिटीले गरेको ती सिफारिशका आधारमा शनिबारसम्ममा प्रदेश कमिटीले उम्मेदवार टुंग्याउने एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए। नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र पनि उम्मेदवारबारे अन्योल नै छ।

माओवादी केन्द्रले बागमती नगरपालिकामा मेयरमा फेरि भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान तथा हरिवन नगरपालिकामा मेयरमा ०७४ का प्रत्यासीसमेत रहेका जिल्ला संयोजक कमल बुढाथोकी र उपमेयरमा पद्मा मोक्तानको नाम सिफारिश गरेको छ। त्योबाहेक अन्य पालिकामा उम्मेदवार टुंगिएका छैनन्।

माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकीले १० गतेसम्म गठबन्धनभित्र चुनावी तालमेलको प्रयास गरिने बताएका छन्। सत्ताधारी दलहरूबीच तालमेलबारे निर्णय कुरिरहेको सो पार्टीका नेताहरू बताउँछन्।

नेकपा एकीकृत समाजवादीले हरिवनमा मेयरका लागि जिल्ला अध्यक्षसमेत रहेका सुरेन्द्र लामाको नाम सिफारिश गरेको छ। सो पार्टीले पनि अन्य पालिकामा तालमेलको निर्णय कुरिरहेको बुझिएको छ।

जसपाले उम्मेदवारबारे अन्तिम निर्णय गरिसकेको छैन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने एक दर्जन पालिकामा मेयर तथा अध्यक्षको टुंगो लगाइसकेको र बाँकीमा १/२ दिनमै उम्मेदवार टुंगाउने लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद यादवले दाबी गरे।

लोसपाले चन्द्रनगर, कौडेना, गोडैता, ब्रम्हपुरीलगायत पालिकामा अहिलेकै प्रमुखलाई दोहोर्‍याउने भएको छ। चुनावको माहोल शुरु भइसक्दा समेत दलहरूले उम्मेदवार छान्न नसक्दा मतदाता र कार्यकर्ता भने अन्योलमा परिरहेका छन्।

यता जिल्लाका दक्षिणी पालिकामा उम्मेदवारको टिकट नपाएर रुष्ट भएका नेताहरूलाई नेकपा एमाले र एकीकृत समाजवादीले टिकट दिन खोजिरहेको पनि कतिपयले बताएका छन्। नेकपा एमाले र एकीकृत समाजवादी पार्टीको जिल्लाको दक्षिणी क्षेत्रमा भने संगठन कमजोर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.