|
फाइल फोटो

लमजुङ : पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या घट्न थालेको छ। १० दिनअघिसम्म दैनिक २००को हाराहारीमा आउने गरेको पर्यटकको संख्या यतिबेला ८÷१० जनामा घटेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले वर्षायाम सुरु हुन लागेको र बाटोमा समस्या हुने कारण पर्यटकको संख्या घट्न थालेको बताए। 

अन्नपूर्ण विश्व पर्यटन बजारका महत्वपूर्ण पदमार्गमध्ये एक मानिन्छ। यहाँ विगतमा दैनिक ५००\६०० को हाराहारीमा पर्यटक आउँथे। त्यसैले पर्यटन व्यवसायी भने पर्यटक घट्न थालेसँगै आम्दानी कम हुँदा चिन्तित छन्।

कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै विस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो।  जोखिम कम भएपछि बढ्दै गरेको पर्यटक केही हप्ताबाट घट्दै यतिबेला न्यून आउँदा मर्कामा परेको उनीहरुको गुनासो छ। 

अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भने,‘पर्यटकको चाप हुँदा दैनिक ५०\६० हजार आम्दानी हुन्थ्यो, तर अहिले आम्दानी शून्यजस्तै भएको छ।' 

अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङले केही हप्ताअघिसम्म दैनिक  ४०\५० हजार आम्दानी गरेका थिए। पदमार्गमा पर्यटक ह्वात्तै घट्दा चार\पाँच हजार रुपैयाँमा चित्त बुझाउनु परेको उनको भनाइ छ।

उनीहरू मात्र होइन पदमार्ग आसपासका करिब तीन हजार ५००  पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यो क्षेत्र अब फेरि थला परेको छ।

पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन्। यो पदमार्गमा सन् २०२२ को हालसम्म चार हजार ९०० हाराहारीमा पर्यटक आएको केन्द्रका पर्यटन सहायक गुरुङले] बताए।

हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थुम्रापास गरी मुस्ताङ तथा कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउँछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.