|

सर्लाही : सर्लाहीको निर्वाचन क्षेत्र न–२ (ख) बाट तेस्रो लिंगी राधा मौसीको नामले चिनिने महेन्द्र साह तेली प्रदेशसभा सदस्यको लागि उमेदवार भएका छन्। उनलाई नेपाल जनता पार्टीले लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाएको हो।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–९ निवासी राधा मौसीले यसअघि २०७४ सालको स्थानीय तहको चुनावमा मलंगवा नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त चुनावमा उनी पराजित भएका थिए।

दोस्रो पटक पनि सोही ठाउँबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहँदा मतदाता नामावलीबाट उनको नाम मलंगवा नगरपालिकाको–९ बाट काटेर हरिपुर्वा नगरपालिका–६ मा रहेको पाइएकाले उनले उमेदवार बन्नबाट वञ्चित भएका थिए। ​स्थानीयमाझ लोकप्रिय रहेका उनले चुनाव जित्न सक्ने सम्भावना रहेको भए पनि विरोधीको षड्यन्त्र र निर्वाचन कार्यालयको लापरबाहीका कारण उम्मेदवारी दिन नपाएको गुनासो उनले गरे।

हाम्रो समाजमा तेस्रो लिंगीहरूको काम नाचगान गर्दै ठाउँ ठाउँमा डुलेर पैसा तथा इनाम लिने, कसैको घरमा बच्चा जन्मिएको छ भने नाचगान गरेर बधाई तथा आशीर्वाद दिने रहेको भए पनि ती सब कामबाट उनले आफूलाई अलग्गै राखेका छन्। उनी समाजसेवीको रुपमा स्थापित हुन चाहन्छन्।

छरछिमेक अथवा कुनै गाउँमा दिन दुःखी, असहाय एवं विपन्न दलितको घरमा विवाह, व्रतबन्ध, श्राद्ध अथवा कुनै आपदविपत् पर्दा आफूले सकेसम्म सहयोग गर्दै आएको बताए। नागरिकतामा उनको लैगिंक पहिचान पुरुष भए पनि उनी आफूलाई महिला भनेर चिनाउँछन्।

सबैको सुखदुःखमा सहभागी भएर सघाउँदै आएकोले आफूलाई माया गरेर राधा मौसी भनेर सबैले सम्बोधन गर्ने गरेको उनले बताए। मलंगवामा मात्र नभई जिल्लाभरि र भारतमा समेत उनी राधा मौसीको नामले चिनिन्छन्।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय तेस्रो लिंगीलाई समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरिन्छ। हामी पनि यही समाजकै एउटा हिस्सा हौं र मानवीय भावना भएका मान्छे हौं भनेर बताउनका लागि पनि उम्मेदवारी दिएको उनी बताउँछन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका उनी प्रदेशसभाको चुनावमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

राधा मौसीलाई चुनावी मैदानमा उतार्ने नेपाल जनता पार्टीका सर्लाही जिल्ला उपाध्यक्ष रविन्द्र रायका अनुसार सर्लाहीमा उनको लोकप्रियताका कारण पार्टीले टिकट दिएको बताए। ‘हाम्रो पार्टीले कसैमाथि भेदभाव गर्दैन,’ रायले भने।

संविधानको धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तका आधारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई राज्यका निकायमा सहभागिता हुने व्यवस्था गरेको छ। ‘तर संविधानले नै प्रत्याभूति गरेको हक पनि दलहरूले हामीलाई दिएका छैनन्‚’ उनले भने‚ ‘लैगिंक तथा यौनिक अल्पसंख्यक उम्मेदवार न त दलका प्रत्यक्ष चुनावी मैदानमा भेटिन्छन् न समानुपातिक सूचीमा नै छन्।’

यसपालिको चुनावमा आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाएर उम्मेदवारी दिने पहिलो उम्मेदवार आफू नै भएको महेन्द्र साह तेली ‘राधा मौसी’ ले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.