|
फाइल तस्वीर

सुर्खेत : आर्थिक वर्ष ०८०/८१ को नयाँ बजेट निर्माण गर्न छलफल शुरु गर्ने समय घर्कीसकेको समयमा आज कर्णाली प्रदेश सरकारले तेस्रो अधिवेशन अन्त्य गरेको छ। मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा सम्बोधन गर्दै तेस्रो अधिवेशन अन्त्य भएको बताएका हुन्। 

यता प्रदेशसभा अन्त्य गरिएको छ भने उता सरकार विस्तार हुन सकेको छैन। हालसम्म मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एक विनाविभागीय मन्त्रीमात्र रहेका छन्। 

चालु आव ०७९/८० को बजेट कार्यान्वयन गर्ने आखिरी चौमासिक र नयाँ बजेट निर्माणका लागि छलफल, बैठक तथा अन्य कामहरु शुरु भएको समयमा प्रदेश सरकार चलायमान हुनुपर्ने माग प्रदेशसभामा उठेको छ। 

आधा दर्जन माग लिएर काठमाडौँमा संघ सरकारसँग माग राखेर प्रदेश राजधानी फर्केका मुख्यमन्त्री कँडेलले विगतको राजकुमार शर्माको नेतृत्वमा रहेको सरकारले गरेका सबै कामलाई निरन्तरता दिने प्रदेशसभामा प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले केही रकम थुप्रिएर जाम भएको भेटिएको र त्यस खालको रकम बहुवर्षे योजनादेखि क्रमागत योजनामा हालेर विकासको कामलाई परिणाममुखी बनाउने बताएका छन्।

विकास निर्माणका सबै काम जेठमा सकेर असारमा अन्य काम गर्ने योजना रहेको समेत उनले बताए। 

उनले भने, ‘अब जेठमा सबै काम हुन्छन्, असारमा बोलपत्र, कोटेसन बाँडेर असारे विकास गरिने छैन। बजेट वितरणमा अनुशासनसमेत कायम गरिनेछ।’

एमाले र माओवादीबीच विगतमा भएका सहमतिलाई आधार मान्दै १५ लाखदेखि तलका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, उद्योग‚ पर्यटन तथा वन मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका ३० लाख रुपैयाँभन्दा मुनिका योजनाहरु कार्यान्वयन नहुने समेत उनले बताए। 

यो आवमा गर्नैपर्ने काम भएमा बजेटको स्रोत खोजेर उपयुक्त रकम बनाई काम गरिने र केही दिनअघि शर्मा नेतृत्वको मन्त्रिपरिषदले गरेका निर्णय सदर गर्दै अगाडि बढ्ने उनले जानकारी दिए। 

जम्मा १२ घण्टा ५६ मिनेट बसे प्रदेशसभाको तेस्रो अधिवेशन

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ। सोमवार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो। 

तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने १२ घण्टा ५६ मिनेट समय खर्च भएको छ।

तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते शुरु भएको थियो। प्रदेश पमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए। 

प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

सभामुख नन्दा गुरुङले उक्त पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य घोषणा भएको जानकारी गराइन्। यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए। 

अधिवेशनमा प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधिन अवस्थामा रहेका छन्।

फागुन १५ गते कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.