|

वर्ष २०१९ बलिउड अभिनेता अक्षय कुमारका लागि उल्लेखनीय वर्ष रह्यो। एकै वर्षमा प्रदर्शनमा आएका उनका चार फिल्म केसरी, मिसन मंगल, हाउसफूल ४ र गुड न्युजले बक्स अफिसमा २ अर्बभन्दा बढी कमाएका थिए। तीमध्ये सबैभन्दा कम केसरीले २ अर्ब ९ करोड संकलन थियो भने सबैभन्दा बढी गुड न्युजले ३ अर्ब १८ करोड।

दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको रामसेतु यो वर्षका लागि अक्षयको पाँचौँ फिल्म हो। यसअघि उनका बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षाबंधन र कठपुतली प्रदर्शनमा आइसकेका छन्। जसमध्ये कठपुतलीलाई ओटीटी प्लाटफार्म मार्फत रिलिज गरिएको थियो। 

गत वर्ष दीपावलीकै अवसरमा प्रदर्शन भएको अक्षयको सूर्यवंशीले झण्डै २ अर्बको कमाइ गर्दै थलिएको बलिउडलाई कोरोना महामारीपछि राम्रो शुरुवात दिएको थियो। पाँचवटा फिल्म प्रदर्शनमा आउँदा पनि अक्षयका लागि यो वर्ष गतिलो बन्न सकेन। 

गत मार्च १८ मा रिलिज भएको अक्षयको यो वर्षको पहिलो फिल्म बच्चन पाण्डेले ७३ करोड मात्र कमाएको थियो। एक्सन कमेडी जनरामा बनेको फिल्मको बजेट १ अर्ब ६५ करोडभन्दा बढी रहेको थियो। त्यस्तै झण्डै २ अर्ब बजेटमा बनेको ऐतिहासिक फिल्म सम्राट पृथ्वीराजले ९० करोड मात्र कमाएको थियो। 

पारिवारिक कथामा बनेको रक्षाबंधनले पनि लगानी उठाउन सकेको थिएन। अर्बभन्दा बढीको बजेट रहेको फिल्मले बक्स अफिसमा ६१ करोड मात्र कमाएको थियो। त्यस्तै १ अर्ब ३० करोडभन्दा बढी लगानी भएको कठपुतलीले पनि लगानी सुरक्षित गर्न सकेन। तमिल फिल्म रत्सासनको हिन्दी रिमेक कठपुतली डिज्नी प्लस हटस्टारबाट रिलिज भएको थियो। 

गत मंगलबारदेखि प्रदर्शनमा आएको रामसेतुले पहिलो दिन १५ करोडको कमाइ गरेको थियो। जुन यो वर्षका लागि अक्षयका कुनै पनि फिल्मले पहिलो दिन गरेको सबैभन्दा राम्रो कमाइ हो तर हप्ता दिनको छुट्टी पारेर प्रदर्शनमा आएको फिल्मको व्यापार दोस्रो दिनदेखि ओरालो लागेको छ। 

फिल्मले दोस्रो, तेस्रो र चौथो दिन क्रमशः ११ करोड, ८ करोड र ६ करोडको कमाइ गरेको छ। नेगेटिभ वर्ड अफ माउथका कारण फिल्मको व्यापारमा नकरात्मक असर गरेको विश्लेषक बताउँछन्। यही अनुपातमा जाने हो भने फिल्म ८० करोडभित्रै रोकिने देखिएको छ। अभिषेक शर्माको निर्देशनमा बनेको उक्त फिल्म निर्माणमा १ अर्ब ४० करोडदेखि १ अर्ब ५० करोड खर्च भएको बताइएको छ। 

सन १९९१ मा सौगन्धबाट फिल्म क्षेत्रमा डेब्यु गरेका अक्षय बलिउडका सबैभन्दा व्यस्त कलाकार मध्येमा गनिन्छन्। तीन दशकको करिअरमा उनले झण्डै डेढ सय फिल्ममा अभिनय गरिसकेका छन्। वर्ष २०२२ लाई अक्षयको फिल्मी करिअरको सबैभन्दा खराब वर्षको रूपमा हेरिएको छ। २०२३ मा प्रदर्शन हुने गरी उनका ओ माइ गड २, सेल्फी लगायतका चार फिल्म छायांकनका क्रममा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.