अख्तियारद्वारा सर्वोच्चमा मुद्दा दर्ता

|

काठमाडौं : मोबाइल भ्यान खरिद प्रक्रियामा झन्डै २५ करोड भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेका सबै आरोपितले विशेष अदालतबाट सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

भ्यान खरिदमा आपूर्तिकर्ता र कर्मचारीको मिलेमतोमा २४ करोड ८० लाख ९५ हजार भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उपसचिव गणेशप्रसाद चालिसे र आपूर्तिकर्तासमेत गरी १३ जनाविरुद्ध ५ असार ०७६ मा मुद्दा दायर गरेको थियो।

भ्रष्टाचारको प्रमाण पुग्ने मुद्दाका आरोपितले सफाइ पाएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो। आयोगले सोमबार सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरेको छ।

गत वैशाखमा विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको थियो। विशेषको फैसलापछि सबै आरोपितहरूले सफाइ पाएका थिए। आरोपितहरूउपर अख्तियारले लगाएको कसुर पुष्टि हुन नसकेको भन्दै विशेषले सफाइको फैसला गरेको थियो। तर, अदालतको फैसलामा अख्तियारको विमति छ। 

०७५ मै प्राविधिक समितिले भ्यानका सरसामान, उपकरण, रसायनसमेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसनअनुसार नभएको प्रतिवेदन दिएको थियो। सर्त र सम्झौताबमोजिमको नभएको खरिद प्रक्रियामा अनियमितता ठहर गरेको अख्तियारले विशेषबाट प्रतिकूल फैसला भएपछि सर्वोच्च गएको हो । विशेषको सफाइपछि सबै आरोपित कर्मचारी काममा फर्केका छन्। 

खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउन भन्दै सरकारले ०७५ वैशाखमा चारवटा मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान सात करोडका दरले २८ करोडमा भ्यान खरिद गरिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.