|

रुकुम (पूर्व) : रुकुम पूर्वमा मतगणना सकिएको छ।

यो जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। सत्ता गठबन्धनले प्रदेशसभा (क) गुमाएको छ। प्रदेशसभा (क)मा गठबन्धन तर्फका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तेजबहादुर ओलीलाई माकेकै बागी उम्मेदवार सुरुल पुन मगरले पराजित गरेका छन्।

गठबन्धनविरुद्ध पुन मगरले स्वतन्त्र उम्मेदवार दिएपछि पुन मगर सहित उनलाई समर्थन दिएका पार्टीका अन्य नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही समेत गरिसकेको छ।

स्वतन्त्र उम्मेदवार पुन मगरले ४४६५ मत पाउँदा ओलीले ३२३२ मत पाए। पुन मगरले ओलीलाई ५३३ मतान्तरले हराए। ओली २०७४ सालको निर्वाचनमा माओवादी केन्द्र–एमाले गठबन्धनका तर्फबाट यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। अहिले निर्वाचित हुने पुन मगर भने नयाँ अनुहार हुन्। 

प्रतिनिधिसभा र प्रदेशसभा (ख) मा गठबन्धन विजयी

प्रतिनिधिसभा र प्रदेशसभा (ख) मा गठबन्धन विजयी भएको छ। प्रतिनिधिसभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर भारी मतले विजयी भए। घर्ती मगरले १२२६२ मत प्राप्त गरी विजयी भए।

घर्ती मगरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ५२११ मत पाए। ७०५१ मतान्तरले घर्ती मगर विजयी भए। घर्ती मगर २०७४ मा प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए। घर्ती मगर लुम्बिनी प्रदेशसभाको निवर्तमान सभामुख समेत हुन्।

प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री मगरले ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५८६, मङ्गोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढा मगरले ४६४ र नेशनलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढा मगरले ३०३ मत पाए।​

प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी भए। वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केसीले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २६१८ मतले पराजित गर्दै विजयी भए। केसीले ४८६२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खड्काले २२४४ मत पाए।

त्यस्तै नेकपा एमालेका भावना बुढाथोकीले १७८४, स्वतन्त्र उम्मेदवार केशव रावलले ८४०, राप्रपाका केशवचन्द्र समालले २६६, मङ्गोल नेशनल अर्गनाइजेशनका लेखन बुढा मगरले ८३ र स्वतन्त्र उम्मेदवार पूर्णजंग सिंहले ११ मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.