काभ्रे : काभ्रेको बनेपाबाट ४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्ति बनेपा ल्याइएको छ। काठमाडौँको राष्ट्रिय सङ्ग्रहालय छाउनीमा केही समयअघि फेला परेको मूर्ति बुधबार प्रतिस्थापनका लागि बनेपा ल्याइएको हो।
काभ्रेको व्यापारिक तथा धार्मिक शहर बनेपा नगरपालिका–८ स्थित बहिटोलबाट २०३१ सालमा हराएको उक्त बुद्ध मूर्ति ४८ वर्षपछि छाउनीमा फेला परेको थियो।
बही ज्ञानमाला भजन खलःका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समयअघि छाउनीमा फेला गरेको बताए। उनले मूर्ति छाउनीमा रहेको सूचना पाए पनि आवश्यक तयारी पूरा गरेर मात्र आज ल्याएको बताए। उनका अनुसार मूर्ति अष्टधातुबाट निर्मित छ।
बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले मूर्तिको सुरक्षाका लागि सीसी क्यामेरा राखिनुका साथै मजबुत संरचनालगायतको व्यवस्थापन गरिने बताए।
पुरातत्त्व विभागले १ करोडको लगानीमा मन्दिरको पूर्ण सुरक्षा र व्यवस्थापनसहितको पुनः निर्माण गरेसँगै मूर्तिको प्रतिष्ठा गरेको छ। छाउनीबाट बनेपा ल्याएको बुद्धमूर्ति तीनदोबाटोदेखि बाजागाजासहित लायकु, रेडक्रस चोक, चारदोबाटो, चाँदनीचोक, चैतन्य रोड हुँदै बनेपा परिक्रमा गरी पहिलाकै स्थानमा पुर्याई प्रतिष्ठा गरिएको हो।
मन्दिरको अवस्था र व्यवस्थापन प्रभावकारी नभएकाले मूर्ति हराएको स्थानीय बासिन्दाको भनाइ छ। तर हराएको मूर्ति फेरि भेट्नुसँगै आँखासामु देख्न पाउँदा उनीहरू निकै खुशी देखिन्छन्। बुद्ध मूर्तिलाई बजार परिक्रमा गर्ने क्रममा स्वागत गर्ने र हेर्न मान्छेहरूको घुइँचो लागेका थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।