|
हुम्लाको लिमीस्थित प्रहरी चौकी

सुर्खेत : हुम्लाको  नाम्खा गाउँपालिका– ५ को हिल्सा र वडा नं. ६ को लिमीस्थित  सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी  सदरमुकाम सारिएको छ। अत्यधिक चिसो हुने भएपछि यी दुई ठाउँमा कार्यरत प्रहरी सदरमुकाम आएका हुन्।

जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले हिउँदमा अत्यधिक चिसो हुने र मानिसको चहलपहल पनि नहुने भएका कारण दुवै चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जानकारी दिए। हिउँदमा रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनी मंसिरपछि प्रहरीलाई सदरमुकाम झिकाउने गरेको उनको भनाइ छ।

प्रहरी फिर्ता भएपछि चौकीमा ताला लगाइएको छ। हिल्सामा १३ र सुनखानीमा ११ प्रहरी कार्यरत छन्।  अघिल्ला वर्षमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिए पनि यो वर्ष सदरमुकाममै बोलाइएको हो।

दुवै ठाउँका चौकीका प्रहरी जेठसम्म सदरमुकाममै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन्। सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बीओपी) भने हिल्सामै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.