|
प्रतीकात्मक तस्विर

सिन्धुली : सरोकारवाला निकायले संरक्षणमा ध्यान नदिँदा बहुमूल्य जडीबुटी मासिन थालेका छन्।

वनजंगल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढंगले संकलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका हुन्। जडीबुटी संकलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतना नभएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापा मगर बताउँछिन्।

सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनी भन्छिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रूपमा प्रयोग भइरहेका छन्। महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन्।’

जिल्लामा भएका जडीबुटी संकलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरबाट किनेर बिक्री गर्नुपरेको मगर बताउँछिन्। स्थानीय जडीबुटीको महत्त्व बुझाउन नसक्दा र स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन्। महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी संकलन गर्दा बीउ नै मासिँदै गएको छ। जथाभावी जडीबुटी संकलन गरी सदरमुुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिए पनि व्यवस्थितरूपमा संकलन भने हुन सकेको छैन। 

सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ। उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेश तथा बेँसी र खोच क्षेत्रमा  भौगोलिक तथा वातावरणअनुसार फरक–फरक प्रजातिका जडीबुटी पाइन्छन्। यसको अव्यवस्थित संकलन र चोरी तस्करी हुने गरेको छ।
 
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा १३० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी पाइन्छ। साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्त्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छ। यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनी मूल्यवान् जडीबुटी खेर जाने गरेको छ। 

स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन। औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको संकलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए।

जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पुर्‍याउन नसकेको बताइन्। ज्ञान अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.