|

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ। बुधवार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गरेका छन्।

अस्पतालको शिलान्यास गर्दै मन्त्री पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताए। निर्माण हुने अस्पताल देशको महत्त्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले जानकारी दिए।

सम्बोधनका क्रममा उनले लुम्बिनी प्रदेशका सबै जनतालाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम भएको बताए। हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सयको शय्याको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताए। सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीको भनाइ छ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम शुरु भएको बताए। जग्गा प्राप्ति, आइइई लगायतका प्रक्रियाले काममा ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिनुपर्ने माग गरे।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताए। प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणका लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीको भनाइ छ।

डा. गिरीले अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताए। कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको थियो।

निर्माण हुने अस्पताल शुरुको चरणमा ५० शय्याको हुनेछ। भवन निर्माणको कुल लागत २० करोड ९६ लाख ३ हजार ३२६ रुपैयाँ रहेको छ। २०८१ फागुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभी बुटवलले पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.