|

सिन्धुपाल्चोक जुरेमा १४२ जनाको ज्यान जाने गरी २०७१ साउनमा गएको पहिरो पीडितले स्थानीयस्तरबाट संकलित रकम आठ वर्षपछि हात पारेका छन्। 

साविकको माखा गाउँ विकास समितिको जुरेमा पहिरो जाँदा १३५ जनाको मृत्यु भएको थियो भने करोडौँको भौतिक सम्पत्ति क्षति भएको थियो। पहिरोपछि जुरे पहिरोपीडितका लागि जनस्तरबाट  दुई करोड २४ लाख ६६ हजार ६५७ संकलन भएको थियो।

तत्कालीन सर्वदलीय संयन्त्रले संकलित रकम पीडितलाई वितरण गर्न नसकेपछि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रकम जम्मा भएर बसेको थियो। विभिन्न सामाजिक संघ संस्थाले पीडितको नाममा जम्मा भएको रकम तत्काल वितरण गर्न माग गरे पनि राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा वितरण हुन सकेको थिएन।

तत्कालीन जिल्ला दैवीप्रकोप उद्धार समितिले संकलन भएको रकम वितरणका लागि जुरे पहिरो प्रभावित राहत वितरण मापदण्ड समिति बनाएर पीडितको वर्गीकरण गरेको थियो। अहिले रकम वितरण गर्दा त्यही मापदण्डको आधारमा नै रकम वितरण गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठले जानकारी दिए।

घरपरिवारको मृत्यु भएकाको लागि ‘क’, घर जग्गा सम्पत्ति क्षति भएकालाई ‘ख’ र जग्गा मात्रै पहिरोमा परेकाको लागि ‘ग’ वर्गमा विभाजित गरेर त्यही आधारमा रकम वितरण गर्ने मापदण्ड तयार पारिएको तत्कालीन मापदण्ड समितिका सदस्यसमेत रहेका पत्रकार युवराज पुरीले जानकारी दिए।

अहिले रकम पाउँदा पीडितले चार हजारदेखि एक लाख ५४ हजारसम्म रकम पाएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुखलाई पीडितले पाउने चेक प्रदान गरेको छ। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीन स्थानीय सरकारका प्रमुखलाई रकमबापतको चेक हस्तान्तरण गर्नुभएको थियो। अब सम्बन्धित स्थानीय तहको खातामा रकम जम्मा हुने र स्थानीय तहले आफ्नो पालिकाभित्रका पीडितलाई तोकिएको मापदण्डअनुसार रकम वितरण गर्ने छन्।

पीडितले रकम पाउँदा मापदण्ड निर्धारण समितिले तोकेको मापदण्डअनुसार नम्बर प्रदान गरेर रकम हस्तान्तरण गरिएको छ। बलेफी गाउँपालिकाको एक सय १६ परिवार प्रभावित भएका थिए भने ११३ को मृत्यु भएको थियो। बलेफीले जम्मा दुई हजार ४२७ अंक प्राप्त गरेर सबैभन्दा बढी एक करोड २८ लाख तीन हजार ६६२ रुपैयाँ पाएको छ।

लामो समयपछि स्थानीयस्तरबाट संकलन भएको रकम पीडितले पाउनु सुखद् भएको बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बताए। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुबोध’ ले आफूहरूको निरन्तरको पहल र प्रयत्नपछि पीडितको नाममा सङ्कलन भएको रकम प्रदान गर्न सफल भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.