|
द प्रिण्ट

इलाम : भारतले हालै उदघाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति नेपालका राजनीतिक दलका नेताहरूले आपत्ति प्रकट गरिरहेका छन्। नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ। नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ।

नक्सा सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा नक्साको बारेमा आपत्ति जनाएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत नेपाली भूमि भारतीय संसदको नक्सामा राखिनुलाई उचित मान्न नसकिने बताएका छन्।

उनले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा कुरा उठाउन माग गरेका छन्। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले समेत सरकारको धारणा माग गरेका छन्। ‘भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु नितान्त आपत्तिजनक छ। तत्काल सरकारको धारणा सार्वजनिक हुन जरुरी छ।’ उनले अफिसियल फेसबुक पेजमा लेखेका छन्।

भारतीय संसद् भवन भित्रका भित्ताहरूमा भारतका पूर्वगृहमन्त्री सरदार वल्लभभाई पटेल र अम्बेडकरसँगै चाणक्यको तस्विर पनि छ। यसबाहेक, त्यहाँ धेरै कलाकृतिहरू छन्। यी सबैको बीचमा अखण्ड भारतको नक्साको तस्वीरलाई राखिएको छ।

भारतीय सञ्चारमाध्यमले नक्सामा पुरातन समयका महत्वपुर्ण राज्यहरू र शहरहरू देखाएको दाबी गरेका छन्।  नक्सा वर्तमान पाकिस्तानको तक्षशिल सम्म देखाउँछ। नक्साको छेउमा एउटा ढुङ्गा छ जसमा पुरानो शिलालेखबाट लेखिएको लेख छ। अर्को छेउमा अर्को ढुङ्गामा बनेका पुरातन कालका मूर्तिहरू छन्।

अविभाजित भारत दाबी गरिएको नक्सामा पाकिस्तान, बंगलादेश, आदिलाई पनि देखाइएको छ। नयाँ संसद् भवन त्रिकोणात्मक आकारमा बनाइएको छ। हाल लोकसभामा ५९० जना र राज्यसभामा २८० जना सिट क्षमता रहेको छ। नयाँ संसद भवनमा लोकसभामा ८८८ सिट छ भने आगन्तुक ग्यालरीमा ३३६ भन्दा बढी व्यक्तिको सिट छ।

नयाँ राज्यसभामा ३८४ सीटहरू छन् र आगन्तुकहरूको ग्यालेरीमा ३३६ भन्दा बढी व्यक्तिहरूको सिट क्षमता छ। दुवै सदनको संयुक्त सत्रमा लोकसभामा १ हजार २७२ भन्दा बढी सांसदहरू सँगै बस्न सक्छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणभन्दा ३ दिनअघि भारतीय संसदमा अखण्ड भारतको नाममा नेपाली भूभागसमेत समावेश भएको नक्सा सार्वजनिक भएको हो।  भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखर भेटवार्ता गर्ने तय भएको छ। भ्रमण अघि आएको अखण्ड भारतका कारण प्रचण्डलाई भारतीय समकक्षीसंगको जेठ १८ गते हैदराबाद हाउसमा हुने भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा देखाएपछि हालसम्म दुवै देश बिच औपचारिक रुपमा सम्वाद भएको छैन्। अहिले लुम्बिनी र कपिलबस्तुलाई समेत अखण्ड भारतमा समावेश गरेपछि प्रधानमन्त्री प्रचण्डको भुमिका कस्तो रहनेछ भन्ने प्रश्न खडा भएको छ।

भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) ले विगत लामो समय देखि अखण्ड भारतको मुद्धा उठाउँदै आएको छ। उसले अखण्ड भारत भित्र वर्तमान नेपाल समेत रहेको दाबी गरेको छ। गौतम बुद्ध र सिताको जन्म भुमि नेपाललाई देवघरको रुपमा चिनिदै आएको भारतीय संचारमाध्यमहरूमा उल्लेख छ। आरआरएसले आर्यहरूको भूमि मानिने भारतले २५०० वर्षमा धेरै आक्रमणहरूको सामना गरेको कारण अखण्ड भारत टुक्रिएको दाबी गर्दै आएको छ।

आक्रमणहरूले पाकिस्तान, बंगलादेश, नेपाल, भुटान, तिब्बत, श्रीलंका, म्यानमार, अफगानिस्तान, इरान, ताजिकिस्तान, इन्डोनेसिया, पाकिस्तानकै बलुचिस्तानलाई भारतबाट अलग गरेको आरआरएसको दाबी छ। मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, दक्षिण भियतनाम, कम्बोडिया आदि पनि अखण्ड भारतको हिस्सा रहेकाले आगामी २०÷२५ बर्षमा एकत्रित हुने राष्ट्रीय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतलाई उद्धित गर्दै भारतीय संचारमाध्यमहरुले लेख्दै आएका छन्।

आरएसएसले ’अखण्ड भारतको’ विचारलाई राजनीतिक र सांस्कृतिक रुपमा मात्रै हेर्नुपर्ने बताउँदै आएको छ। सत्तारुढ भारतीय जनता पार्टीले अखण्ड भारतको नक्सालाई भारत वर्षको सभ्यता भनेर व्याख्या गरिरहेको छ।

 दि प्रिन्टमा प्रकाशित समाचार अनुसार विनायक दामोदर सावरकरले १९३७ मा अहमदाबादमा आयोजित हिन्दू महासभाको १९ औं वार्षिक अधिवेशनमा  आफ्नो लागि ‘एकीकृत’ वा ‘एकीकृत’ वा ‘अविभाज्य’ भारत ‘कश्मीरदेखि रामेश्वरम, सिन्ध (अहिले पाकिस्तानमा) देखि असमसम्म’ भएको बताएका थिए। आरएसएसका कार्यकर्ताहरूका अनुसार सावरकरको विचार भूराजनीतिक थियो, भागवतको मतलब ‘भारतको नेतृत्वमा छिमेकी देशहरूको सांस्कृतिक एकीकरण’ हो।

संघ विचारक र दक्षिणपन्थी इतिहासकार देवेन्द्र स्वरूपले सन् २०१६ को आफ्नो पुस्तक ‘अखंड भारत—संस्कृति ने जोड़ा राजनीति ने तोड़ा  मा भारतको व्यवस्थित भूराजनीतिक विभाजनको सम्पूर्ण कालक्रमलाई विस्तृत रूपमा व्याख्या गरेका छन्।

हिन्दू धर्मको सबैभन्दा पवित्र धार्मिक ग्रन्थ मानिने १८ मुख्य पुराणहरू मध्ये दुई विष्णु पुराण र भागवत पुराणमा उल्लखित सन्दर्भका आधारमा विभाजनपूर्व भारतीय क्षेत्रहरूसहित भारतमा श्रीलंका, म्यानमार, थाइल्याण्ड, बाली (इन्डोनेसिया)  फिलिपिन्स र मलेसिया समावेश भएको देवेन्द्र स्वरूपको दाबी छ।

सोही पुस्तकमा देवेन्द्र स्वरूपले ‘भारत’ मा ७ औं शताब्दीसम्ममा अफगानिस्तान, तास्कन्द र समरकन्दका मध्य एसियाली क्षेत्रहरू समावेश भएको र इस्लामिक आक्रमणपछि तिनीहरूको विभाजन सुरु भएको बताएका छन्।  आरएसएसले आफूलाई भाजपाको ‘वैचारिक गुरु’ मान्छ र यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जोडिएका छन्।

विभिन्न भारतीय संचारमाध्यमहरुको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.