|

दैलेख : जिल्लाको नौमूले गाउँपालिकाले एक वर्षको अवधिमा खानामा १ करोड ७३ लाख खर्च गरेको पाइएको छ। महालेखाको प्रतिवेदन २०७९ अनुसार नौमूलेले आव २०७८।०७९ मा खाना तथा विविधमा १ करोड ७३ लाख ५६ हजार ९०८ रुपैयाँ २१ पैसा खर्च गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ तर गापाले एक वर्षको अवधिमा खाना तथा विविधमा उक्त खर्च गरेको हो।

गापाले एक वर्षमा करारमा २० जना कर्मचारी नियुक्ति गरी ६३ लाख ४२ हजार ४३३ रुपैयाँ अनियमित भुक्तानी गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ (८) बमोजिम पालिकाले नगरप्रहरी, सवारीचालक, सइस, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचे लगायतका पदमा मात्र करार सेवा लिन सकिने व्यवस्था गरेकोमा ती पद बाहेकका कर्मचारी नियुक्ति गरी ६३ लाख ४२ हजार ४३३ रुपैयाँ अनियमित भुक्तानी गरिएको छ।

नौमूले गापाका तत्कालीन अध्यक्ष भदे बुढा मगर तथा उपाध्यक्ष अमृता सिंहले ऐनविपरीत दोहोरो सुविधा लिएका छन्। कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ को अनुसूचीविपरीत उनीहरूले यातायात सुविधामार्फत प्रतिव्यक्ति ६० हजारका दरले १ लाख २० हजार रुपैयाँ दोहोरो सुविधा लिएका हुन्।

एक वर्षको अवधिमा ऐनमा भएको व्यवस्थाअनुसार नौमूले गापाका पदाधिकारी तथा सदस्यहरूले १ करोड ९ लाख ४४ हजार ५२९ रुपैयाँ ३३ पैसा सुविधाबापत लिए पनि गापा अध्यक्ष तथा उपाध्यक्षले यातायात सुविधामार्फत ऐनविपरीत लिएको दोहोरो सुविधा १ लाख २० हजार असुल गर्नुपर्ने महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ।

त्यसैगरी गापाका तत्कालीन जनप्रतिनिधिले सरकारी सम्पत्ति दुरुपयोग गरेका छन्। अध्यक्ष भदे बुढा मगर सहितका सातजना तत्कालीन जनप्रतिनिधिले सरकारी सम्पत्ति बरबुझारथ नगरी सरकारी सामानको अपचलन गरेका हुन्। उनीहरूले आफ्नो सेवा अवधि समाप्त हुँदा समेत जिन्सी सामान गापामा बुझएका छैनन्। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १०३ (१) बमोजिम कुनै कर्मचारी सरुवा, बढुवा वा अन्य कुनै कारणले कार्यालयबाट अलग भएमा जिन्सी सामान बरबुझारथ गर्नुपर्ने व्यवस्था छ तर गापाका तत्कालीन अध्यक्ष मगर, उपाध्यक्ष सिंह तथा वडाध्यक्ष गगन रोका, मोहनकुमार राना र मोतीलाल बस्नेतले ३ लाख ४६ हजारका ल्यापटप नबुझाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

गापाले सांस्कृतिक कार्यक्रममा २ लाख ५० हजार खर्च गरेको छ। ब्लड क्यान्सर लगायत अन्य रोगबाट पीडित बालबालिका तथा अन्य दीर्घ रोगीलाई सहयोग गर्ने भन्दै २ लाख ५० हजार खर्च गरी सञ्चालन गरेको सांस्कृतिक कार्यक्रमबाट प्राप्त रकम सम्बन्धितलाई नबुझाई स्वाहा पारिएको हो।

त्यसैगरी नौमूले गापामा अध्यक्ष रोजगार कार्यक्रमका लागि खरिद गरेका सामग्री हिनामिना भएको पाइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम बिल भरपाई सहित लेखा राख्नुपर्ने भए पनि पालिकाले अध्यक्ष रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री खरिद गरी ५ लाख ६५ हजार २४८ रुपैयाँ भुक्तानी दिएको पाइएको छ।

महालेखाका अनुसार अध्यक्ष रोजगार कार्यक्रमका सुरक्षा सामग्री खरिदका लागि गापाले ५ लाख ६५ हजार २४८ रुपैयाँ भुक्तानी दिए पनि उक्त सामान सम्बन्धित व्यक्तिलाई नदिएको र गापाको जिन्सीमा समेत नरहेकाले सामान वितरण भएको प्रमाण पेस गर्नु भनिएको छ।

सवारी भाडामा २६ लाखभन्दा बढी खर्च 
नौमूले गापाले एक वर्षको अवधिमा सवारी भाडामा ३६ लाखभन्दा बढी खर्च गरेको छ। गापाले आर्थिक वर्ष २०७७।०७८ मा सवारी भाडामा २६ लाख ९६ हजार ४४५ रुपैयाँ खर्च गरेको हो। गापामा दुईवटा सवारी साधन हुँदाहुँदै भाडामा खर्च गरेको २६ लाख ९६ हजार ४४५ रुपैयाँ अनियमित देखिएको छ।

गापाले सामान खर्च भएको विवरण पेस नगरी ४ लाख ९८ हजार १६० रुपैयाँ भुक्तानी गरेको छ। बिल भरपाई खर्च लेख्नुपर्ने व्यवस्था भए पनि सामान खर्च भएको प्रमाण पेस नभएकाले खर्च पुष्टि हुने प्रमाण पेस नगरे उक्त रकम असुल गर्न महालेखाले भनेको छ।

नौमूलेले औचित्य पुष्टि नगरी होर्डिङ बोर्ड र ब्यानर खरिद गरी ४ लाख ५० हजार खर्च गरेको छ। पालिकाको जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत १५ पिस होर्डिङ बोर्ड र १५० पिस खरिद गरेका ब्यानरको औचित्य पुष्टि नभएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

यसैगरी नौमूले गापाले सामाजिक परिचालकका नाममा २० लाख ३३ हजार ५ सय रुपैयाँ अनियमित भुक्तानी गरेको छ। पालिकाले ८ जनालाई १६ हजार र १ जनालाई २१ हजार ५ सयका दरले २० लाख २३ हजार ५ रुपैयाँ सामाजिक परिचालक राख्न नपाउने व्यवस्थाविपरीत अनियमित खर्च गरेको हो।

भ्रमण नगई भ्रमणभत्ता नौमूले गापाका एक पदाधिकारीले भ्रमण नगई भ्रमण भत्ता लिएका छन्। उनले झूटो विवरण पेस गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीबाट भ्रमण आदेश स्वीकृति गराई ३ हजार ६ सय भुक्तानी लिएकाले उक्त रकमको दोब्बर ७ हजार २ सय असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।

भ्रमण खर्च नियमावली २०६४ मा भ्रमण सुविधा लिने प्रयोजनका लागि भ्रमण गर्ने पदाधिकारी वा कुनै कर्मचारीले झूटा विवरण पेस गरी भुक्तानी लिएको ठहरेमा भुक्तानी लिएको रकमको दोब्बर असुल गर्नुपर्ने व्यवस्था छ।

पदाधिकारीले नाक, कान, घाँटी स्क्रिनिङ गर्ने कार्यका लागि २०७८।९ पुस १२ गतेदेखि २१ गतेसम्म भ्रमण स्वीकृति लिएको तर हाजिर रजिस्टरमा हाजिर गरेको देखिएकाले भ्रमण नगई भ्रमण भत्ता लिने पदाधिकारीबाट उक्त रकमको दोब्बर असुल गर्न महालेखाले भनेको छ।

गापाले समानीकरण अनुदानबाट शिक्षकलाई २२ लाख ८० हजार ६५३ रुपैयाँ अनियमित तलब खुवाएको छ। पालिकाले स्वीकृत दरबन्दीभित्र नपरेका आन्तरिक स्रोतबाट तलबभत्ता बेहोरेका शिक्षकलाई वित्तीय समानीकरण अनुदानबाट २२ लाख ८० हजार ६५३ रुपैयाँ अनियमित तलबभत्ता भुक्तानी गरिएको हो।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.