|

पर्वत : कास्कीको पोखरामा धेरै पर्यटकहरु तानिनुको प्रमुख कारणमध्येको एक फेवाताल पनि हो। 

तालको बिचमा रहेको ताल वाराही मन्दिर, छेवैमा रहेको रानी वन अनि किनारमा रहेको सिमसार क्षेत्र। तर यही फेवातालमाथि पटक–पटक अतिक्रमण हुँदै आइरहेको छ।  ताल छेउको जमिनमा अतिक्रमण हुँदा तालको आकार घट्दै जाँदा फेवाको भविष्यमाथि नै चिन्ता हुने गरेको छ।

तालको अतिक्रमण हुँदा तथा ताल छेउको सिमसार क्षेत्रमा व्यक्तिहरूले प्लटिङ गर्दा समेत पोखरा महानगरपालिकाले कुनै ‘एक्सन’ लिन नसकेको भन्दै नागरिक तथा फेवाको बारेमा चिन्ता गर्नेहरूले महानगरपालिकाप्रति प्रश्न उठाउँदै आएका थिए। 

महानगरपालिकाको अनुमति नै नलिई सिमसार क्षेत्रमा गरिएका प्लटिङहरू हटाउनुपर्ने भन्दै नागरिकबाट आवाज उठेको बेलामा सिमसार क्षेत्रका बासिन्दाले भने प्लटिङ गर्न पाउनुपर्ने माग राख्दै आइरहेका छन्।

तर, पोखरा महानगरपालिकाले भने सिमसार क्षेत्रको संरक्षणका लागि मङ्गलवार डोजर लगाएर प्लटिङहरू भत्काइदिएको छ।  फेवातालको सिरान तर्फको सिमसार क्षेत्र पुरेर बनाइएका नयाँ र पुराना सबै प्लटिङमा  महानगरले डोजर चलाएको हो। 

सिमसार क्षेत्र पुरेर खुलेआम प्लटिङ भइरहँदा पनि महानगर मूकदर्शक बनेको भन्दै सर्वत्र आलोचना भएपछि महानगरका प्रमुख धनराज आचार्यले सिमसार क्षेत्रका सबै प्लटिङ भत्काउन निर्देशन दिएपछि नगर प्रहरीको टोली डोजर मङ्गलवार सिमसार क्षेत्रमा गएको थियो। 

महानगरपालिकाका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार सिमसार क्षेत्रको करिब ८० रोपनी क्षेत्रफलको प्लटिङ मङ्गलवार भत्काइएको छ।
केही व्यक्तिले कृषि प्रयोजनका लागि भन्दै सिमसार क्षेत्र पुर्ने काम गर्दै आइरहेका थिए।  व्यवसायी देवेन्द्र केसीले सिमसार क्षेत्रमा पहिले नै प्लटिङ गरिसकेको र अर्का व्यवसायी युवराज खतिवडाले करिब पाँच सय रोपनी जग्गालाई कृषियोग्य जमिन बनाउने भन्दै माटो भर्दै आइरहेको स्थानीय नागरिक बताउँछन्। 

अदालतले सिमसार क्षेत्र पुर्ने कार्य रोक्न अन्तरिम आदेश दिँदा समेत सङ्घ र प्रदेश सरकारले यसमा आवश्यक चासो नदिँदा अतिक्रमणकारीहरू झनै हौसिएको उनीहरूको भनाइ छ।  नागरिक समाज कास्की, वातावरण संरक्षणका लागि महाअभियान कास्की, लगायतले फेवा सिमसार पुर्नबाट जोगाउन माग गर्दै गण्डकी प्रदेश सरकार, सङ्घ सरकारका प्रतिनिधि र महानगरका प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए।

सिमसार क्षेत्रको विषयमा आलोचना भएपछि नगरप्रमुख आचार्यले पोखरा महानगरपालिका–१८ र २४ मा पर्ने फेवाताल किनारमा रहेको कित्ता नं १४०४–५, १२७३, १२७४, २२१८–२०, ३३८८–९१ लगायतका जग्गामा प्रचलित कानुन बमोजिम सम्बन्धित वडा कार्यालय वा पोखरा महानगरपालिकाको कार्यालयबाट स्वीकृति नै नलिई अटेर गर्दै डिपिसी गर्ने, प्लटिङ गर्ने, मसिनको प्रयोग गरेर माटो भर्ने तथा उत्खनन गर्ने भइरहेकोमा त्यसलाई रोक्न आदेश दिएका थिए। 

‘फिल्ड प्रतिवेदन’ को आधारमा अस्थायी प्रकृतिका सम्पूर्ण संरचनाहरू स्थानीय प्रशासनको सहयोग लिएर आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ को उपदफा ३, ४ र ५ बमोजिम कार्यालयकातर्फबाट हटाउनको लागि आदेश दिइएको महानगरप्रमुख आचार्यको आदेशमा भनिएको छ।

फेवाताल मुहान तथा किनार आसपासमा रहेको दलदल क्षेत्र पुरेर स्थानीयले धमाधम प्लटिङ गर्दै सिमसारलाई आफ्नो बनाउन खोजेपछि महानगरपालिकाले पटक पटक चेतावनी दिँदै आएको छ। प्लटिङ, डिपीसि, उत्खनन र दलदल पुर्न प्रयोग गरिएका डोजरको चाबी खोसेर आइन्दा गल्ती नदोहोर्‍याउन  महानगरपालिले चेतावनी दिएको थियो। तर, पनि अतिक्रमण नरोकिएपछि महानगरपालिकाले डोजर नै लगेर प्लटिङ र डिपिसीहरु भत्काइदिएको हो।

पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भागलाई  आवासीय क्षेत्रका रूपमा तोकेको छ। फेवातालको सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचीकृत छ। 

फेवाताल आसपासका बिरौटा फाँट, सेदी, भकुन्डे लगायतका क्षेत्रमा यस अघि नै बस्ती बसिसकेको छ। पामेका स्थानीयबासीहरुले भने आफ्नो जग्गा प्लटिङ गर्न पाउने पर्ने माग राख्दै आएका छन्। उनीहरूले गत आइतबार महानगरपालिकाको कार्यालयमा प्रदर्शन सहित धर्ना पनि दिएका थिए। 

स्थानीय जग्गाधनीहरू आफ्नो लालपुर्जाको जमिनलाई आफू अनुकूल प्रयोग गर्न, पुर्न वा उत्खनन गर्न पाउनुपर्ने बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.