|
फाइल तस्वीर

दैलेख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकताका लागि सबै जात जातिको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

कुल शिरोमणि स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा दैलेखको दुल्लु नगरपालिका-१२ दह गाउँमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले दैलेख दाहाल जातिको उद्गमस्थल मात्र नभएर यहाँ अन्य जातजातिको समेत सम्बन्ध रहेको बताए। उनले आफ्ना पुर्खा दैलेखको दह गाउँबाट आएको बताउने गरेको स्मरण गराए। 

प्रधानमन्त्री दाहालले आफ्नो पुर्ख्यौली ठाउँमा आउन पाउँदा खुशी लागेको बताए। उनले दैलेखको पञ्चकोशी क्षेत्रको विकासलगायत समग्र विकासका लागि पहल गर्ने बताए। 

प्रधानमन्त्री दाहालले नेपालको प्राकृतिक सम्पदा, पर्यटन विकासले समृद्धि ल्याउन ठूलो मद्दत पुर्‍याउने बताए। उनले आफूले देखेका सपना आम नागरिकका सपना भएका बताए।

उनले अहिलेको सरकार सुशासन कायम गर्न अघि बढेको बताए। दाहालले आर्थिक संकटलाई समाधान गर्ने,  छिमेकीसँगको सम्बन्ध मजबुत बनाउने‚ सुशासन कायम गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले नेपालले १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गरि मुलुकलाई समृद्धितर्फ लैजाने बताए। दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो।

यस ठाउँलाई दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदि भूमिका रूपमा चिनिन्छ। कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ। प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गरेका छन्।

प्रधानमन्त्री दाहाललाई कुल शिरोमणि स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दैलेखमा अभिनन्दनसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.