|

नेपाल कला परिषद् भवन, बबरमहल।

भवनको प्रवेशद्वारमा दायाँबायाँ स्वागतार्थ वा रक्षार्थ खडा छन् ढलोटका दुई शार्दूल। तिनका गलामा पुष्पहार र घण्टी सुशोभित छन्। तिनका आँखामा हिंस्रकता छैन, बालसुलभ चंचलता छ। जिब्रो निकालेका छन् तिनले,  काठमाण्डुको उखर्माउलो गर्मीले तिनलाई पनि आच्छुआच्छु पारेको पो हो कि? 

पृष्ठभूमिमा छ नेपाल ललितकला प्रदर्शनी २०२३ को ससानो स्ट्याण्डी। भर्खरभर्खरै सेतो रङ्ग पोतिएको भित्तामा काला अक्षरहरूमा केहि नामहरू उत्कीर्ण छन्। भित्तामा कला संग्रहालयको विन्यास कसरी गरिएको छ, केकस्ता प्रकृतिका कलाकृतिहरू कहाँ, कसरी राखिएका छन्, उल्लेख गरिएको छ। कलाको सरकारी दरबारमा नयाँ नेतृत्व आएको संकेत पनि होला त्यो।

वास्तवमै writing on the wall ले केही न केही त पक्कै बोलेको छ, तर लेखनीको विषय ललितकला प्रदर्शनी भएको हुँदा प्रदर्शनीमै केन्द्रित होऊँ है त। पहिलो तलाको करिडोरमा ध्यानस्थ मंजुश्री भेटिएका छन्, पर्यवेक्षक भावमा उनले परिषदको सूक्ष्म अवलोकन गरिरहेको प्रतीत हुन्छ।

पहिलो तलामा मैथली र भोजपुरी कलाकृतिहरूले स्थान पाएका छन्। ‘वातावरण’ शिर्षकको सरिता देवी मण्डलको कलाकृतिमा एउटा ठाडो खोलाले बस्तीलाई २ भागमा बाँडेको देखिन्छ। एकातर्फ रूखहरू ढलाइएका छन्, लडाइएका छन्, विनाश लीला मच्चाइएको छ प्रकृतिको राज्यमा। प्रकृतिको ताण्डवनृत्य त्यहाँ देख्न सकिन्छ।

मुसलधारे पानी परेको छ, खेतखलिहान डुबेका छन्, मान्छे, पशुवस्तु सबै भेलमा परेका छन्, जनधनको ठूलो क्षति भएको छ। अर्कोतर्फ मानिस प्रकृतिको काखमा बसेका छन्। फलफूलका बोटहरूमा लटरम्म फल फालेका छन्, वन्यजन्तु, वनस्पतिको प्राचुर्य छ, मानिस सुखी छन्, खुशी छन्। झरीले रूझेको गाउँको रूप झन् निखारिएको छ।

लक्ष्मण मण्डलको ‘ग्रामीण जीवन’ शिर्षकको कलाकृति पनि मनोहारी छ। उनको कलाकृतिमा मिथिलान्चलको सौन्दर्य छचल्किएको छ। फलहरूले लदालद वृक्षहरू, मलिला, रसिला फाँटहरूमा छुपुछुपु धान रोप्दै गरेका ग्रामीण बालाहरू र युवाहरू, गोरूगाडामा फलफूल र तरकारी भरेर बिक्रीका लागि बजार जाँदै गरेका किसानहरू, अन्नबाली स्याहार्दै गरेका किसान दम्पति, माछा, कछुवा, गंगटा लगायतका जनावरहरूले सुशोभित पोखरीले ग्राम्य जीवनको सुन्दर चित्र प्रस्तुत गरेका छन्।

छेवैमा राखिएको विणा कर्णको ‘महाभारत’ले झस्काएको छ। पुत्रमोहमा विवेक गुमाएका धृतराष्ट्र सिंहासनारूढ छन्, साथैमा छिन् धृतराष्ट्रमा विवेक आरोपण गर्न नसक्दा हार खाएकी गान्धारी, सभामा अन्य ‘सभ्य’ हरू पनि छन्, जूवाको खाल बसेको छ, एकातर्फ कौरव, अर्कोतर्फ पाण्डवहरू विराजमान छन्, शकुनि पासा फ्याँकिएको छ, कुरुक्षेत्रको बिउ रोप्ने तयारी पूरा हुने क्रममा छ।

प्रदर्शनीमा राखिएका भोजपुरी कलाकृतिहरूले देहातको सौन्दर्य झल्काएका छन्। कलात्मक ढोका, कोठा अनि ढिकी कुट्दै गरेका महिला र पुरूषहरूले अकिंचनजस्ता अनभिज्ञहरूलाई भोजपुरी कलासंसारको परिचय दिएका छन्।

कलाकृतिहरूको सर्सती अवलोकन गरी फर्कँदा प्रकृति विनाशका कारण ग्रामीण जीवनले भोग्नुपरेका कहरहरू प्रतिबिम्बित हुने चित्रहरूले सिंहदरबारलाई झस्काउन खोजेजस्तो लाग्यो। स्मरणीय छ, आजभोलि केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहहरूमा पनि सिंहदरबारहरू, त्यहाँका सिंहहरूलाई जनतामाथि अत्याचार गर्न खुला छाडिएको छ।

तिनलाई दैनिक प्रशासनिक खर्च चलाउनै हम्मे परिरहेको छ, ती जनताबाट अनेक शिर्षकमा कर असुल्छन् फगत उदरर्पूर्तिका खातिर। त्यसैले चुरेबाट अनियन्त्रित रूपमा निर्माण सामग्रीहरूको उत्खनन गरी बजेटको जोहो गर्ने प्रस्तावमा केन्द्र, प्रदेश र स्थानीय तहका सिंहदरबारहरूको एकमत हुन्छ। त्यसैले त गाउँगाउँका डोजराध्यक्षहरू आफ्ना डोजरहरूलाई काम दिलाउन गाउँबस्ती धरापमा पर्ने गरी कमला पहाडहरूमाथि निरन्तर आक्रमण गरिरहन्छन्।

कार्यकर्ता पाल्नै पर्यो, परिवार पाल्नै पर्यो, गाडीघोडाको जोहो पनि गर्नै पर्यो, फेरि अर्को चुनावका लागि पनि खर्च जुटाउनै पर्यो। अनि यति ‘उद्यम’ नगरी भो त? जोगी हुनका लागि राजनीति गरेको हो र?

विणा कर्णको ‘महाभारत’मा देखिएका धृतराष्ट्र, शकुनि, दुर्योधनादि पात्रहरूका नयाँ संस्करणहरूको हाम्रो राजनीतिक वृत्तमा, कर्मचारीतन्त्रमा कुनै कमी छैन। हालसालै ठूलो रकमको लोभमा नागरिकलाई नै अनागरिक बनाइ, राज्यविहीन बनाइ, शरणार्थी बनाइ विदेश पठाउनका लागि रचिएको काण्ड छताछुल्ल भएको छ, एक तहका राजनीतिकर्मी र कर्मचारी पोलिएपछि लहरो तान्दा पहरो नथर्कियोस् भन्ने उद्देश्यका साथ मुख्य दलका मठाधीशहरू तैंचूप मैचूप मुद्रामा प्रस्तुत भएका हुन् कि?   

सत्तास्वार्थका लागि, आफ्ना छोरा-नाति-पनातिको भविष्य सुनिश्चित गर्न, सात पुस्ताका लागि कमाउन शासकहरूले देशका अनमोल निधिहरू कौडीका भाउमा बेच्न सक्छन्, बेचिरहेका पनि छन् भन्ने त २००७ सालपछि गरिएको कोशी, गण्डकी, महाकाली, कर्णाली, अरूण, सेती लगायतका जीवनदायिनी नदीहरूको गोदानले नै प्रष्ट पारेको छैन र? आफू र आफ्नाहरूको उदरभरणबाहेक यिनीहरूको कुनै अर्को उद्देश्य छैन भन्ने त धमिजा, फोर्टुम, लाउडा, चाइना साउथवेष्ट, सांसद किनबेच, यति, ओम्नी, सुडान बख्तरबन्द गाडी खरिद, नक्कली भुटानी शरणार्थी  लगायतका काण्डहरूले प्रष्ट पारेका छैनन् र?

श्री ३ मोहनशम्शेरले राणाशाही जोगाउन प्रयास गरेकै हुन् तर आफ्नो स्वार्थपूर्ति भइसकेपछि विदेशी शक्तिका लागि राणाशाहीको उपादेयता सकियो। नानाथरी बिल्ला भिरेको वर्तमान राजनीतिक र प्रशासनिक नेतृत्व पनि आफू र आफ्नाहरूको स्वार्थरक्षार्थ जस्तोसुकै दुरभिसन्धिमा ल्याप्चे लगाउन तम्तयार देखिन्छ।

सत्ता र शक्तिको आहालमा डुबेकाहरूका लागि, तिनका आसेपासेहरूले विदेशमा पनि सुखसयलपूर्वक जीवन जिउन पुग्ने धनदौलतको जोरजाम पक्कै गरेका छन्। तराइ, पहाड र हिमालका नेपालीको त सम्पत्ति भनेकै स्वदेश मात्र हो।

आफू र आफ्ना सन्ततिहरूका लागि पनि यो देश साँचीराख्ने हो भने शासकहरूलाई, ‘राष्ट्रसेवक’हरूलाई जनताप्रति उत्तरदायी बनाउनुको कुनै विकल्प छैन।

दलविशेषका लठैत, शण्डमुण्ड, हनुमान, हनुमतिहरूबाट यो काम हुने छैन, न त बेथितिको अन्त्य गर्न सेतो घोडा चढेको, चम्चमाउँदो तरबार भिरेको कल्की अवतार कुनै योद्धा नै नेपाली समाजमा अवतरित हुनेछ।

यसका लागि त नेपाली लोक नै जाग्नुपर्छ। जाग्न ढिला भइसक्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.