|

इलाम : कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा संखुवासभा र खोटाङ विजयी भएका छन्।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा जारी प्रतियोगितामा संखुवासभाले उदयपुर र खोटाङले तेह्रथुमलाई हराएको हो। जितसँगै संखुवासभा सेमिफाइनल र खोटाङ क्वाटरफाइनल प्रवेश गरेको हो। प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा संखुवासभाले उदयपुरलाई टाइब्रेकरमा हराएको थियो।

निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। सुरुवाती अग्रता उदयपुरले लिए पनि संखुवासभा खेलमा फर्किएपछि उदयपुर स्तब्ध बन्न पुग्यो। खेलको १४ औँ मिनेटमा उदयपुरका दिवस श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

२६ औँ मिनेट कप्तान सुनिल खड्काले गोल गर्दै अग्रता दोब्बर बनाए। ३१ औँ मिनेटमा जीवन मगर र ६७ औँ मिनेटमा भगत श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। संखुवासभाले टाइब्रेकर ५–४ गोल अन्तरले उदयपुरलाई हराएको हो। खेलको म्यान अफ दि म्याच संखुवासभाका गोलरक्षक प्रदीप जिमी घोषित भए।

उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र संखुवासभा जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेले नगद चार हजार र पदक प्रदान गरे।

त्यस्तै आज सम्पन्न अन्तिम प्रि–क्वाटरफाइनल खेलमा खोटाङले तेह्रथुमलाई हराएको थियो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो। खेलको ३९ औँ मिनेटमा खोटाङका सुजन माझीले गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको ५० औँ मिनेटमा तेह्रथुमका मिलन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरमा ४–२ को अन्तरमा हराउँदै खोटाङ विजयी भएको हो। जितसँगै खोटाङले सेमिफाइनलमा सुनसरीको सामना गर्नेछ।

खेलको म्यान अफ दि म्याच खोटाङका गोलरक्षक किरण राई भए। उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र स्थानीय व्यवसायी सर्वोत्तम श्रेष्ठले नगद चार हजार र पदक प्रदान गरे। बिहीबार सुनसरी र खोटाङ तथा इलाम र धनकुटा भिड्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.