|

बैतडी : बैतडीमा दर्ता नगरी चलाइएको मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित मेडिकलमा स्वास्थ्यकर्मीको रूपमै काम गर्दै आएकी श्यामाकुमारी शाहलाई पक्राउ गरिएको हो।

मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बेच्ने काम गरिरहेकाले नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

उनले भने, ‘श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र उनले नै क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बेच्ने गरेकाले नियन्त्रणमा लिएका हौं।’

श्यामा क्लिनिक अनुमति नलिई सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले जेठको दोस्रो साता सिल गरेको थियो। त्यसपछि गाउँपालिकाले मेडिकल सञ्चालनका लागि अनुमति दिए पनि स्वास्थ्यसँग सम्बन्धित नभएका व्यक्तिले बिरामी जाँच्नेदेखि लिएर औषधि बेच्ने काम गरिरहेकाले नियन्त्रणमा लिइएको जनाएको छ।

श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन्। पक्राउ परेकी श्यामाविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.