|

बैतडी :  पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ।  शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो।  

बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो। 

प्रजालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद र  मतियार देखिएकी विमलालाई  अपराध संहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम ६ वर्ष कैद सजायको फैसला भएको बैतडी जिल्ला अदालतका श्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए। 

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए। शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको थियो। दुवैजनाविरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान गरिएको थियो।

त्यसपछि पुस अन्तिम सात दुवै जनालाई  जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको  थियो। 

श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन्। उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए।

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका थिए।

विष्टको मृत्यु भएपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.