|

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङका ईश्वरीप्रसाद आचार्यलाई वर्षौंअघिको खेतीपाती गर्ने चलन राम्रो लाग्छ। पछिल्लो समय समूहमा वा अर्मपर्म गरेर खेतीपाती गर्ने प्रचलन हराउँदै गएको छ। यसबाट आर्थिक बोझ थपिँदै जाँदा जग्गा बाँझो छोड्नुपर्नेसम्मको अवस्था आएको उनको अनुभव छ।

‘आजभोलि त जे काम गर्न पनि पैसा अघि सार्नुपर्छ। आफूले गर्ने काम त गरिन्छ‚ अरू मान्छे पनि चाहिने भयो भने पैसा भए काम गर्न सकियो‚ नत्र सकिन्न’, उनले भने, ‘अर्मपर्म गर्ने चलनमा पैसा नभए पनि काम गर्न सकियो। आज आफूकहाँ बोलाए भोलि उसकोमा गएर काम गरे भयो। पैसा नभएरै खेतीपाती लगाउन छोड्नुपर्ने अवस्था त थिएन पहिले।’

गाउँबाट बसाइँसराइँ गरेर शहरमा जानु, काम गर्न सक्ने जनशक्ति वैदेशिक रोजगारीमा रहनु र पहिलेका जस्तै धेरै सन्तान नजन्माउनु लगायतका कारणले अर्मपर्म गर्ने प्रचलन घट्दो छ। पातलिँदै गएका ग्रामीण क्षेत्रमा रहेका परिवारमा काम गर्न सक्ने जनशक्ति छैनन्। काम गर्न सक्ने सक्रिय उमेर समूहका युवाहरू आन्तरिक तथा बाह्य रोजगारीका लागि घर छाडेर हिँड्नुपर्दा ग्रामीण क्षेत्रमा खेतीपातीका वेला समस्या हुने गरेको छ।

पहिले जस्तो गोरु पाल्ने र परेली गर्ने (आर्थिक हिसाब नगरी काम सक्ने गरी दुई वा दुईभन्दा बढी परिवार मिलेर संयुक्त रूपमा काम गर्ने) प्रचलन पनि कम हुँदै जाँदा किसानहरू अर्मपर्मभन्दा आर्थिक कारोबारकै माध्यमबाट खेती लगाउन बाध्य छन्। तराई क्षेत्रमा केही ठूला ‘ट्याक्टर’ले जोतेर खेती गरे पनि पहाडी क्षेत्रमा गोरुले जोतेर खेती गरिन्थ्यो।

पछिल्ला वर्षहरूमा कृषिलाई आधुनिक प्रविधिमा जोडेर व्यावसायिक कृषिलाई प्रवर्धन गर्न भन्दै ‘मिनी टिलर’को प्रयोग बढ्दो छ। कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतले पनि केही प्रतिशत अनुदान दिएर ‘मिनी टिलर’ कृषकलाई बाँडेपछि गाउँघरमा पालिने गोरु पहिले जस्तो रहेनन्।

‘एक्लैले एक हल गोरु राखेर वर्षभरि पालेर हिउँद बर्खामा गरेर लगभग एक महिना जोत्नका लागि कठिन हुन्छ तर दुई परिवारले एक हल गोरु पालेर परेली गरेपछि आधा खर्चमा गोरु पाल्न सकियो। गोरुको मात्रै होइन खेताला र खेताल्नीको पनि पर्म लागिहाल्छ’, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक मुक्तिप्रसाद पौडेल भन्छन्, ‘अहिले ट्याक्टर लगाउने हो। ट्याक्टरले जोत्ने भए पनि पहिले पैसा ठिक्क पारेर मात्रै बोलाउनुपर्छ। जोतिसकेपछि पैसा दिएर पठाउन परिहाल्छ।’

जिल्लाका ग्रामीण क्षेत्रमा ‘मिनी टिलर’ले जोतेको दरमा पनि एकरूपता छैन। प्रतिघण्टाको सातआठ सय रुपैयाँदेखि १२-१३ सय रुपैयाँसम्म तिर्ने गरेको कृषकहरू बताउँछन्। ठूलो ‘ट्याक्टर’ ले जोतेको त प्रतिघण्टाको तीन हजार वा योभन्दा पनि बढी लिने गरेका छन्।

गाउँमा गोरु नपाएको अवस्थामा किसानहरू बाध्यतामा रहेरै ‘ट्याक्टर’ को प्रयोग गर्दै आइरहेका छन्। यसले लगानीको आधा खर्च पनि उठ्दैन। ‘ट्याक्टर’ को महँगो दर‚ महँगा खेताला र रोपाहार खोजेर धान रोप्दा कृषकलाई फाइदा त हुँदैन। तैपनि आफ्नो जग्गा बाँझो देख्नु नपर्दा आत्मसन्तुष्टि हुने गरेको किसानहरू बताउँछन्।

‘गाउँका मान्छे बजारमा झरे। गाउँमा कामको माचामाच भएका वेला पनि काम गर्ने मान्छे पाइन्न। काम गर्नेहरूको अभाव भएपछि जसले जति भन्छ उति नै ज्याला दिएर काममा बोलाउनुपर्छ। हिसाबै गरेर हेर्ने हो भने गाउँको यो उत्पादनमा लड्नुभन्दा आयातित अन्न सस्तो पर्छ’‚​ कटुवाचौपारीकै अर्का किसान विष्णु अधिकारी भन्छन्, ‘खेती लगाउँदा लगानी उठेन भनेर यति राम्रो जग्गा बाँझै राख्न पनि मनले मान्दैन। यही समस्यामा रहँदा रहँदै पनि जसोतसो खेती लगाइएको छ।’

गाउँगाउँमा रहेका ‘मिनी टिलर’ पेट्रोल र डिजेलबाट चल्ने गरेका छन्। पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य वृद्धिका कारण ‘ट्याक्टर’को जोताइ महँगो बन्दै गएको छ। त्यसमा पनि ‘मिनी टिलर’ बिग्रिएमा तिनीहरूको मर्मत वा कुनै ‘पार्टपुर्जा’ फेर्नुपर्दा पनि महँगो हुने भएकाले ‘ट्याक्टर’ले जोत्दा त्यसको भाडा महँगो बनेको ‘ट्याक्टर’ साहुहरू बताउँछन्।

‘ट्याक्टर’मा बढी समस्या आएका वेला जिपमा राखेर सदरमुकामका मर्मत केन्द्रहरूमा लैजाँदा पनि धेरै खर्च हुन्छ। त्यसले पनि ट्याक्टरको भाडा महँगो भएको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.