|

म्याग्दी : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीवार (आज) बिहान आएको पहिरोले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह बगाएको छ।

पहिरोले विद्युत् गृहको भवन र उपकरण पहिरोले बगाएपछि गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ। 

मरेनीस्थित विद्युत् गृहभन्दा माथिको पाखोबाट बिहीबार (आज) बिहान १० बजेको समयमा खसेको पहिरोले विद्युत् गृहको भवन र उपकरण बगाएर दरखोलामा मिसाएको घटनास्थल पुगेर फर्किएका नगेन्द्र ठकुरीले जानकारी दिए।

उनले भने, ‘विद्युत् गृहको भवन र उपकरण सबै पहिरोले दरखोलामा मिसाएको छ। गाउँमा बिजुली आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ।’

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार दुई वर्षअघि पनि परियोजनाको नहर, बाँध र विद्युत् गृह बाढीले बगाएको थियो। एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालिएको थियो। अहिले फेरि पहिरोले विद्युत् गृह बगाएपछि गाउँमा बिजुली आपूर्ति बन्द भएको छ।

एक वर्षअघि परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले १२ लाख रुपैयाँ र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपैयाँ खर्च भएको थियो। २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट ८५ लाख ९७ हजार, जनश्रमदानबाट ३३ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयबाट सहयोग स्वरूप प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपैयाँ लागतमा परियोजना निर्माण गरिएको थियो।

परियोजनाको विद्युत् गृहमा क्षति पुगेपछि लुलाङ, खोरिया, मेरनी र लमसुङका ३७० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.