|

पर्वत : स्थानीय तहमा जनप्रतिनिधि चुनिएको १४ महिना पूरा भइसकेको छ। २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिका लागि पहिलो कार्यकाल सिकाइका रूपमा रह्यो। दोस्रो कार्यकालमा कार्यशैलीमा अलि परिपक्वता आउने अपेक्षा जनताले गरेका छन्। 

पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा राजु आचार्य छन्। उनले कृषि र शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेका छन्। उनै आचार्यसँग थाहाकर्मी संजय रेग्मीले गाउँपालिकाको समृद्धिका लागि भइरहेका काम र त्यहाँका सम्भावनाबारे कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश।

 तपाईँले गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि के–के प्रयास गर्नुभयो?

अहिलेको समयको माग डिजिटल साक्षरता र डिजिटल सिकाइ भएकोले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने प्रयासमा लागेका छौँ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हरेक विद्यालयमा ल्यापटप, स्मार्ट टेलिभिजन र एल.एम.एस.प्रणाली जडान गरिरहेका छौँ। हरेक आधारभूत विद्यालयमा दुई वर्षको लागि निःशुल्क इन्टरनेट जडान तथा सुविधाको लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेका छौँ।

गाउँको एउटा विद्यालयलाई पूर्ण प्रविधियुक्त माध्यमको बनाउने भनेर विद्याज्योति माविमा काम गर्दैछौँ। गाउँकै विद्यालयमा रहेर बाली विज्ञान अध्ययन गर्दै आएका विद्यार्थीहरूलाई मासिक तीन हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्दै आइरहेका छौँ। त्रैमासिक रूपमा सिकाइ उपलब्धि मापन परीक्षा गरेर विद्यालयका उपलब्धिहरूको मूमूल्यांकन गरिरहेका छौँ। कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन गरेका छौँ। शिक्षकको दरबन्दी मिलान लगायतका काम गरेका छौँ। सुत्केरी बिदामा बसेको शिक्षकको स्थानमा सट्टा शिक्षकको भर्ना गरी कक्षालाई निरन्तरता दिएका छौँ।

कृषिमा राम्रो सम्भावना रहेको जलजलामा कृषि र पशुपालनमा के–के कामहरू भएका छन?

आलु उत्पादनमा हामीले फड्को मारेका छौँ। आलु पकेट क्षेत्र स्थापना गरी व्यावसायिक रूपमा बिउ आलु उत्पादन भइरहेको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर पूर्व मूल बिउ उत्पादन गरेर भण्डारण गरिएको छ। यो कार्यक्रमबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ लगायतलाई आलुको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य छ। व्यावसायिक रूपमा दूध उत्पादन बढाउन भैँसी पकेट कार्यक्रम सञ्चालन भइरहेको छ।

नाग्लीवाङको फर्सेमा एकीकृत दूध संकलन केन्द्र स्थापना गरेर दूधको बजारीकरण गरिएको छ। हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १५ हजार रुपैयाँ दिइरहेका छौँ। धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो क्षमताको कोल्ड स्टोर निर्माण गर्ने तयारी छ। ‘फलफूल तथा कृषि उपजको आधारशिला, सुखी, समृद्ध जलजला’ भन्ने नारासहित हामी कृषि अभियानमा छौँ।

स्वास्थ्य क्षेत्रमा सुधार गरी नागरिकलाई सहज पहुँच उपलब्ध गराउन के गर्नुभएको छ?

मासिक रूपमा नौ वटा गाउँघर क्लिनिक, २४ वटा खोप क्लिनिक र ६५ जना महिला स्वास्थ्य स्वयंसेविकाबाट  आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सबै वडामा घुम्ती शिविर मार्फत करिब दुई हजार  जनालाई नसर्ने रोग परामर्श र रोग पहिचान सम्बन्धी सेवा दिइएको छ। प्रत्येक तीन/तीन महिनामा हरेक टोलमा  पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा नसर्ने रोगको स्क्रिनिङको काम भइरहेको छ। गाउँपालिकाभित्र रहेका अति विपन्न ११५ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेका छौँ।

 पोषण तथा स्वास्थ्य जीवनशैली प्रवर्धनका लागि ४४ वटा विद्यालयमा स्वास्थ्यकर्मीको उपस्थितिमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन भएको छ। ग्रामीण भेगमा रहेका गर्भवतीको जाँचका लागि सबै स्वास्थ्य संस्थाहरूमा घुम्ती सेवा मार्फत ग्रामीण भिडियो एक्स–रे सेवा चलिरहेको छ। जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी, नवजात शिशु ज्येष्ठ नागरिक, आर्थिक अवस्था कमजोर भएका, विपन्न परिवार जीवन रक्षाको लागि निःशुल्क यातायातको व्यवस्था गरेका छौँ।

 जिल्लाकै उच्च पहाड तथा घना जङ्गल तथा यही स्थानीय तह हुँदै मुस्ताङ जानुपर्ने अवस्थामा यहाँका  पर्यटकीय सम्भाव्यता के हुन सक्छन्?

जिल्लाको उच्च भूभाग मानिने जलजलाको कालाञ्जर हम्पाल क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो। यसलाई धार्मिक पर्यटनको विकाससँगै आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षण केन्द्रका रूपमा स्थापना गर्न सकिने पर्याप्त सम्भावना छ। मिलन चोकबाट सिर्पुसम्म केबलकार निर्माण गर्ने र कालञ्जर पर्वत हम्पालबाट म्याग्दी जिल्लाको घोडेपानी, सिख, घारा हुँदै मुक्तिनाथ धामसम्म जाने मार्ग सहज गराउन सके कस्तो हुन्थ्यो होला?

र्‍याफ्टिङबाट साहसिक पर्यटनका गन्तव्य बनाउन सकिन्छ। शिव पार्वतीको तपस्या स्थल कालञ्जर पहाड, हम्पालको लेक जलजला, सिर्पू, सहस्र धारा लगायतका ठाउँमा धार्मिक पर्यटनको सम्भाव्यता छ। मगर समुदायको बाक्लो बसोबास रहेकाले उनीहरूको रहनसहनको अवलोकन सहितको होमस्टे कार्यक्रम चल्दै आएका छन्।

नागरिकलाई आर्थिक रूपमा कमजोर हुन नदिन के अभ्यास भएका छन्?

आर्थिक उपार्जनको लागि गाउँपालिकावासी कृषिमा नै निर्भर छन्। यहाँको माटो बलौटे भएकाले पनि उत्पादनमा जिल्लामै हामी अगाडि हुन सक्छौँ। बाँझो जग्गालाई उपयोग गरेर सहकारी वा समूहले व्यावसायिक खेती गर्न प्रोत्साहन गरेका छौँ। गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रमहरू चलाउने तयारी छ। कालीगण्डकीबाट ‘रन अफ रिभर’ मोडलमा पर्याप्त विद्युत् निकाल्न सकिन्छ।

गाउँपालिका क्षेत्रमा पाइने अल्लो, लोक्ता, अर्गेली जस्ता रेसादार खेतीलाई व्यवस्थित र व्यावसायिक बनाई सानो स्तरमा सञ्चालित लघु उद्योग खोल्न सकिने बलियो सम्भावना छ। गाउँपालिकाको धेरैजसो वडामा खानेपानीका प्रशस्त स्रोत भएकोले मिनरल वाटर उद्योग सञ्चालन गर्न सकिन्छ। कालीगण्डकी कोरिडोरसँग सडक सञ्जाल जोडिएकोले यसबाट पर्यटन तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने अवस्था छ। युवा उद्यमशीलता विकासको लागि युवामा विदेश होइन बिजनेस भन्ने भावना जागृत गर्ने प्रयास गरिरहेका छौँ।

गाउँपालिकाले कस्ता क्षेत्रलाई योजनाको प्राथमिकतामा राखेको छ?

 शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, पूर्वाधार विकास, लक्षित विकासका क्षेत्र, रोजगारी, सुशासन प्रवर्ध न,  र वातावरण तथा विपद् व्यवस्थापनलाई हामीले प्राथमिकतामा राखेका छौँ। रोजगारीका अवसर, आर्थिक विकास तथा गरिबी निवारण, स्थानीय स्रोत साधन र सीपको अधिकतम उपयोग, उत्पादनमूलक, दिगो विकास र वातावरण संरक्षणका कुरामा जोड दिँदै आएका छौँ।

 बचत र सीपको माध्यमबाट उद्यमशीलताको विकासमा सघाउ पुर्‍याउने योजनाहरूलाई जोड दिएका छौँ। व्यवस्थित बसोबास, अवरुद्ध हुन नपर्ने सडक, खुला बहुसाँस्कृतिक सङ्ग्रहालय निर्माण र मारुनी सोरठी यानिमाया जस्ता कलाको संरक्षण पनि हाम्रा योजना हुन्।

गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन के गर्नुभएको छ? सम्भावना के छन्?

हाम्रो आन्तरिक आम्दानीका लागि कालीगण्डकीबाट प्राप्त हुने नदीजन्य वस्तुको बिक्री पनि एक हो। तर अदालतको आदेशले अहिले यो रोकिएको छ। हम्पालको जलजलामा एउटा स्विमिङ पुल निर्माण गरेर फरक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। पर्यटकीय क्षेत्रमा ‘पिकनिक स्पट’ बनाएर आन्तरिक पर्यटकलाई आकर्षण गर्न सकिन्छ।

कालीगण्डकी नदी, सामुदायिक वन, ढुङ्गा  खानीबाट आम्दानी बढाउन सकिन्छ। कालञ्जर हम्पाल  क्षेत्रलाई गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। बहाल बिरौटि कर, घर भाडा कर र विज्ञापन कर आदिको खाजासहित शिविर सेवा दिएर पनि कर संकलनको काम भइरहेको छ। ढुङ्गा, गिटी र बालुवाको घाट गद्दी स्थापना गरेर लिलाम गर्ने गरिएको छ।

 कार्यकालको एक वर्षको अवधिले के के सिकायो? के के चुनौती दियो? यो एक वर्ष तपाईँको अनुभव कस्तो रह्यो?

लक्षित समूहमा जीवनयापनका आधारभूत सीप प्रदान गरी आय–आर्जन वृद्धि गर्ने खालका कार्यक्रम छनोट र कार्यान्वयन, सीमित स्रोत र साधनले पूर्वाधार तयार गरी संस्थागत विकास तथा सुधार गर्न नसकिनु,  जनसहभागितामा आधारित, सन्तुलित र न्यायोचित विकास गर्न कठिनाइ, आयोजना सञ्चालनमा जनसहभागिता वृद्धि गर्दै पारदर्शिता, जवाफदेहिता, सुशासन र आयोजना प्रति अपनत्व अभिवृद्धि गर्नु, करदाताहरूको अपेक्षित सहयोग प्राप्त गरी आन्तरिक आय वृद्धि गर्नु जस्ता काम चुनौतीपूर्ण छन्। यहाँको भौगोलिक अवस्थिति नै चुनौतीपूर्ण भएकाले सडक तथा पूर्वाधारलाई दिगो बनाउन समस्या भइरहन्छ।

पहिलो वर्षमा ऐन नियम कानुनको अध्ययन गरेको छु, सरकारको कार्यसम्पादन प्रक्रिया पनि एक वर्षमा बुझिएको छ। चुनावी घोषणापत्रअनुसार काम गर्न वेला बेलामा आफ्नै घोषणापत्रको अध्ययन गर्दै उल्लेख भएका कार्यक्रम र पालिकाको नीति योजना कार्यक्रम बजेट र उपलब्धि मापनसँग तुलना गरिरहेको छु। सबल पक्ष र केही कमजोर पक्षको समीक्षा गरी आगामी वर्षमा क्रमिक सुधार गर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.