|

चितवन : सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ। भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ।

 सोही सन्दर्भमा आज यहाँ आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनाउने बताइन्। यसै क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोध गर्न लागिएको उनले जानकारी दिइन्

 देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको छ। भ्रमण वर्षका अवसरमा विश्वभर रहेका भरतपुरवासी र विदेशीलाई आमन्त्रण गरिँदैछ। दाहालले नेपाल ट्रष्टको आँपटारीमा रहेको दियालो बङ्गला अवलोकन गर्नका लागि खुल्ला गर्न पहल भइरहेको बताइन्।

भ्रमण वर्षको प्याकेज छिट्टै सार्वजनिक गरिने भन्दै उनले चितवन राष्ट्रिय निकुञ्जभित्र नियन्त्रणमा लिएर राखिएको बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापनका लागि आग्रह गरिएको बताइन्। महानगरभित्र हरियाली बनाउन रु चार करोड बजेट छुट्याइएको छ भने टोलमा नियमित सरसफाइका लागि अभियान अघि बढाइएको उनले बताइन्।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, गीता गुरुङ, ज्ञानजङ्ग लामा, ठाकुर ढकालसहित राजनीतिक दलका जिल्ला नेतृत्व एवं प्रतिनिधि, कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायतले आआफ्नो सुझाव राखेका थिए।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पर्यटनविज्ञ विश्व सुवेदीलगायतले महानगरका तर्फबाट भ्रमण वर्षको तयारीका बारेमा जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.