जुम्ला : पीडितलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धतासँगै जिल्लाको उमगाड सडकखण्ड खोलिएको छ।
बेपत्ताको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, पीडित परिवारलाई राहतको पहल गर्ने र सर्वोच्च अदालतमा ४ दिनभित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने आफन्तसँग सहमतिपछि बाटो खुलाइएको हो।
आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाइएको भन्दै बिहीवार बिहानैदेखि सडक बन्द गरेका थिए। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्की सहितका सरोकारवाला निकाय त्यहाँ पुगेर गरिएको छलफलपछि सहमति भएको थियो।
चन्दननाथ नगरपालिका–९, बयालकाटियाका २५ वर्षीय धन गिरीले सोही नपा–५ की रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउँथे। २०७७ असोज १५ गते चालक गिरी सहचालक सहित जुम्ला बजारबाट ट्याक्टरमा सरिया र सिमेण्ट लिएर गुठीचौर गापा–१ मणिसाँघुस्थित कर्ण बस्नेतको घरमा झारेको गिरीका दाइ भैरे गिरीले बताउँदै आएका छन्।
उनका अनुसार मणिसाँघुबाट फर्कंदा विमल महत सहित ४ जनाको समूहले राति साढे ९ बजे ट्याक्टरमा चढी चाबी खोसेर ढुंगामुढा गरी बेपत्ता पारेको घटना विवरण रहेको छ। उनीहरूले लामाकार भीरबाट बेपत्ता पारेको आफन्तले बताउँदै आएका छन्। सहचालक भागेका थिए। उनी अहिले जीवितै छन् तर चालक बेपत्ता रहेका छन्
उक्त घटनामा अहिलेसम्म लास वा न्याय कुनै नपाएको भन्दै उनीहरूले कर्णाली राजमार्ग बन्द गरेका थिए।
आफन्तले अभियुक्तलाई जिल्ला अदालत जुम्ला र सुर्खेत जुम्ला उच्च अदालतले इजलासले सफाइ दिएकाले न्याय नपाएको बताउँदै आन्दोलित भएका थिए। उनीहरूले पटक पटक पत्रकार सम्मेलन गरेर न्याय नपाइएको बताउँदै आएका छन्
घटना विवरणका आधारमा ४ जनाविरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारिएको मुद्दामा जिल्ला अदालतले २०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले २०८० असार ३ गते सफाइ दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।