|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभर कामकाजका लागि भन्दै काजमा कार्यरत स्वास्थ्यकर्मीलाई फिर्ता गर्ने निर्णय गरेपछि उपत्यका बाहिरका स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको छ।

हालै मात्र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक मन्त्रालयको निर्णयसँगै फिर्ता हुँदा अस्पतालको सेवा प्रभावित भएको छ।

संघीय स्वास्थ्य मन्त्रालयले संघमा दरबन्दी भएर कामकाजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरूलाई फिर्ता गरेर विशेषज्ञ चिकित्सकहरूलाई अन्यत्र पठाउँदा सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या आएको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए।

सेती अस्पतालका सूचना अधिकारी उपाध्यायका अनुसार  कामकाजमा कार्यरत ४ जना विशेषज्ञ चिकित्सक र ४ जना छात्रवृत्ति करारमा रहेका विशेषज्ञ चिकित्सक गरी ८ जनालाई संघीय सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै सेतीमा सञ्चालित दैनिक स्वास्थ्य सेवामा प्रवाहमा समस्या परेको बताए। उनका अनुसार एमडिजीपी चिकित्सक एकजना, प्याथोलोजिष्ट एकजना, मुटुरोग विशेषज्ञ एकजना र स्त्री रोग विशेषज्ञ २ जना त्यसैगरी संघमा दरबन्दी भएर सेती प्रादेशिक अस्पतालमा काजमा रहेका वरिष्ठ रेडियोलोजिष्ट एकजना, शल्यचिकित्सक एकजना र अर्थोपेडिक सर्जन एकजना मन्त्रालयको निर्णयसँगै फिर्ता भएपछि सेती प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको हो।

‘हाम्रोमा एकजना मात्रै रेडियोलोजिष्ट डाक्टर सा’ब हुनुहुन्थ्यो। मन्त्रालयको निर्णयसँगै उहाँ पनि फिर्ता हुनु भयो। यसपछि हाम्रो सेवा एकदमै प्रभावित भएको छ। हाम्रो अस्पतालमा दैनिक एक हजार विरामी आउनु हुन्छ। त्यसमा दैनिक सय जना जतिको भिडियो एक्सरे गर्नुपर्छ भने केही सिटिस्क्यान पनि गर्नुपर्छ तर अहिले यो सेवा एकदमै प्रभावित भएको छ’‚ सेती अस्पतालमा सूचना अधिकारी उपाध्यायले भने।

यस्तै कर्णाली प्रदेशबाट पनि विशेषज्ञ चिकित्सकहरूभन्दा अन्य स्वास्थ्यकर्मीहरू धेरै फिर्ता जाने अवस्थामा रहेकाले सेवा प्रभावित हुने अवस्था देखिएको बताइएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार सुर्खेतको विभिन्न स्थानीय तह गरेर ६० जनासम्म स्वास्थ्यकर्मी फिर्ता जाने अवस्था छ। ‘हाम्रो प्रदेशमा चिकित्सकहरूभन्दा पनि अन्य स्वास्थ्यकर्मीहरू धेरै फिर्ता जाने अवस्था देखिएको छ’, डा खड्काले भने।

दरबन्दीभन्दा बढी भएका ठाउँमा गएका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिने भन्दै मन्त्रालयले पत्र पठाएपछि यसअघि बाँकेको कोहलपुर नगरपालिकाले दरबन्दीभन्दा बढी संख्यामा रहेका १६ जना स्वास्थ्यकर्मीलाई फिर्ता पठाइसकेको छ। कार्यपालिकाको बैठकले नयाँ आर्थिक वर्ष २०८०।८१ को साउन १ गतेदेखि लागू हुने गरी उनीहरूलाई फिर्ता गर्ने निर्णय गरेको  जनाएको छ।

४ वर्षअघि स्वास्थ्यका कर्मचारीको समायोजनको समयमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाई आफूलाई सजिलो हुने स्थानमा जान इच्छा भए आफ्नो दरबन्दी भएको र जान चाहेको स्थानीय तहको सहमति भएमा काजमा जान मिल्ने निर्णय गरेको थियो। विशेषज्ञ चिकित्सकहरूलाई भने आवश्यकताको आधारमा समेत सेवामा खटाइँदै आएको थियो।

त्यसैका आधारमा ८९५ स्वास्थ्यका कर्मचारी स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटिएका थिए। हाल तलब भत्तालगायतको समस्या देखाउँदै मन्त्रालयले काज फिर्ता गर्न भनेको थियो।

मन्त्रालयले यसअघि कर्मचारी समायोजनपश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा काजमा खटाइएका कर्मचारीहरूमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत्तत् स्थानीय तहमा १ साउनदेखि लागू हुने गरी काज फिर्ता गर्ने निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको थियो। १७ असारमा स्वास्थ्य मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै १ साउनदेखि लागू हुने गरी काजमा रहेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएका थिए।

यसमा प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भएर समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिनसमेत निर्देशन दिइएको थियो।

यसैगरी प्रदेश र स्थानीय तहमा समायोजन भई सङ्घको विभिन्न निकायमा काजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको थियो।

मन्त्रालयको निर्णयपछि केही कर्मचारी काजमा रहेको ठाउँबाट रमाना बुझी खटाइएको ठाउँमा गइसकेका छन् भने केही जाने तयारीमा छन्। दरबन्दीअनुसार कर्मचारी नभएका वेला सेवा प्रवाह गरिरहेका काजका चिकित्सकहरू पनि फिर्ता जाँदा सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी, ओपीडी, सिटीस्क्यानदेखि शल्यक्रियासम्मका अत्यावश्यक सेवा समेत प्रभावित भएका छन्। जसको असर सुदूरपश्चिम प्रदेशमा रहेको सेती प्रादेशिक अस्पतालमा देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.