|

काठमाडौं : चिकित्सा शिक्षा ऐन लागू भएपछि प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका प्रि-डिप्लोमा तहका स्वास्थ्य विषय अध्यापन गराउने कलेजहरु फेजआउट हुँदा प्रि-डिप्लोमा तह विदेशमा पढ्ने र नेपाल आएर समकक्षता प्रमाणीकरण गर्ने  नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

चिकित्सा शिक्षा आयोग स्थापना भएर डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्था घटेसँगै विदेशबाट पढेर आउनेको संख्या बढेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा विदेश पढेर आउने विद्यार्थीले गराउने समकक्षता प्रमाणीकरणको तथ्यांकले विदेशमा चिकित्सा शिक्षाका डिप्लोमा तह पढ्नेहरूको संख्या बढेको देखिन्छ।

अझै अचम्मको कुरा के छ भने गत ३ वर्षको सीटीईभीटीको समकक्षता प्रमाणीकरणको तथ्याङ्क हेर्दा यसरी विदेशमा पढेर समकक्षताको प्रमाणीकरणका लागि आवेदन लिने सबैभन्दा धेरै विद्यार्थी भारतीय कलेजमा पढेर आएकाहरू छन्।

आव ०७२/७३ मा १४ जना, ०७३/७४ मा २८ जना, ०७४/७५ मा ५३ जना, ०७५/७६ मा ११३ जना, ०७६/७७ मा १०९ जना, ०७७/७८ मा ९० जना नेपाली विद्यार्थी विदेशमा प्रि-डिप्लोमा अध्ययन गरेर आएको देखिन्छ।

१०० शय्याको अस्पताल नभएका कलेजहरुले चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम अध्यापन गर्न अनुमति नदिने र चालु कार्यक्रमहरुलाई पनि ५ वर्षभित्र फेजआउट गर्ने निर्णय भएसँगै सीटीईभीटीअन्तर्गतका प्रि-डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा र स्टाफ नर्ससम्बन्धी ७३ वटा, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएनका १० वटा र बिएस्सी नर्सिङका ८ वटा शिक्षण संस्था बन्द भएका छन्।

आयोग स्थापना भएर चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएपछि त्यस्ता विद्यार्थीको संख्या झण्डै दोब्बरले बढेको छ। आव ०७८/७९ मा १४६ जना र ०७९/८० मा २६१ जनाले विदेशमा पढेर आएर समक्षकता प्रमाणीकरण गरेका छन्। यी विद्यार्थी आव ०७५/७६ र ०७६/७७ मा अध्ययन गरेर आएका हुन्।

सीटीईभीटीको पाठ्यक्रम विकास तथा समकक्षता महाशाखाका प्रमुख अनोज भट्टराई देशबाहिर अध्ययन आउने विद्यार्थीमध्ये ८२ प्रतिशत भारतमा पढेर आउने गरेको बताउँछन्।

उनका अनुसार चिकित्सा शिक्षा ऐन लागू भएर सीटीईभीटीअन्तर्गतका कलेज फेजआउट हुँदा पछिल्ला वर्षमा भारतीय कलेजमा अध्ययन गरेर आउने नेपाली विद्यार्थीको संख्या बढेको छ।

‘पछिल्ला वर्षहरुमा देशमा हेल्थको प्रि-डिप्लोमा तह बन्द हुँदा भारतका विभिन्न कलेजमा अध्ययन गरेर समकक्षताको प्रमाणीकरण गर्न आउने नेपाली विद्यार्थीको संख्या बढेको छ‚‘ उनले भने।

यसरी भारतका विभिन्न कलेजमा प्रि-डिप्लोमा तहमा पारामेडिकल एण्ड हेल्थ साइन्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, कार्डियोलोजी जस्ता विषय अध्ययन गरेर आउने विद्यार्थी धेरै रहेको समेत सीटीईभीटीले जनाएको छ।

सीटीईभीटीले जनाएअनुसार भारतका विभिन्न शहरका कलेजहरुले प्याकेजमा नै नेपाली विद्यार्थीलाई अध्ययन गराउने विज्ञापन गरेर विद्यार्थीलाई आकर्षित गर्ने गरेका छन्।

प्रि-डिप्लोमा तहको कोर्सका लागि नेपाली विद्यार्थीलाई ३ लाख भारतीय रुपैयाँ लिने बताइएको छ तर‍ अन्य विभिन्न शुल्क जोड्दा नेपाली १० लाख रुपैयाँभन्दा बढी पर्ने गर्छ।

सीटीईभीटी स्रोतले भन्यो‚ ‘सीटीईभीटीकै लोगो प्रयोग गरेर भारतीय कलेजहरुले हाम्रा विद्यार्थीलाई अध्ययन गराइरहेको देखिन्छ। अझै अचम्मको कुरा भने हाम्रै पाठ्यक्रम नै जस्ताको तस्तै अध्ययन गराइरहेको भन्ने सूचना पनि आएको छ भने यसरी अध्ययन गराउन ती कलेजले नेपालीलाई नै शिक्षक बनाएर लैजाने गरेको सूचनासमेत आएको छ।‘

प्रि-डिप्लोमा तहमा नर्सिङभन्दा पनि पारामेडिकल एण्ड हेल्थ साइन्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, कार्डियोलोजीजस्ता विषय अध्ययन भारतीय कलेजहरुमा नेपाली विद्यार्थी धेरै जाने गरेको समेत सीटीईभीटीले जनाएको छ।

भारतमा नर्सिङ अध्ययन गर्नका लागि प्लस टू सम्मको अध्ययन गर्नुपर्ने नियम छ जसले गर्दा नेपाली विद्यार्थीले त्यहाँ गएर नर्सिङ खासै अध्ययन गरेको देखिँदैन तर नर्सिङबाहेकका प्रि-डिप्लोमा तहमा अन्य विषयमा भने धेरै नेपाली विद्यार्थीले अध्ययन गर्ने गरेको देखिएको सीटीईभीटीले जनाएको छ।

नेपालमा सीटीईभीटीअन्तर्गतका कलेजहरुले प्रि-डिप्लोमा तहका स्वास्थ्य विषय अध्ययन गराउने गरेका थिए तर २०७५ सालमा चिकित्सा शिक्षा ऐन आएर यही ऐनको जगमा २०७६ सालमा चिकित्सा शिक्षा आयोग स्थापना भएको थियो।

त्यसपछि आफ्नै १०० शय्याको अस्पताल हुने कलेजले मात्रै डिप्लोमा तहका चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न पाउने र विश्वविद्यालय र प्रतिष्ठानले डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्न नपाउने निर्णय भएको थियो।

१०० शय्याको अस्पताल नभएका कलेजहरूले चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम अध्यापन गर्न अनुमति नपाउने र चालु कार्यक्रमहरुलाई पनि ५ वर्षभित्र फेजआउट गर्ने चिकित्सा शिक्षा ऐनमा उल्लेख थियो।

तर धेरै कलेजहरुले १०० बेडको अस्पताल स्थापना गर्न नसक्दा सिट संख्या घटेसँगै छिमेकी देश भारमा गएर चिकित्सा शिक्षाका डिप्लोमा तहका कार्यक्रम अध्ययन गरेर आउनेको संख्या बढ्न थालेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.