|

चितवन : पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएको बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेको छ। चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका १०८ परिवार अहिले खोला र वनजंगलको विकल्पको खोजीमा जुटेका हुन्।

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्। वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन्। उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन्। अगुवा जगनारायण बोटे पहिला जीविका चलाउनमाछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउँछन्। 

‘अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन’, उनले भने। कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए। होमस्टे सञ्चालनमा आएसँगै खर्च कटाएर वार्षिक ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए। 
 
चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो। तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटेले बताइन्। जङ्गल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उनले बताइन्। ‘पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जङ्गल र खोलानालामा गएर गुजरा चलाउनुपर्थ्यो। होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ।’ अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उनले जानकारी दिइन्।
 
बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ। होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जङ्गलमा निर्भर हुनु नपरेको विका बोटे बताउँछन्। खोलानालामा र वनजङ्गलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उनको भनाइ छ। अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताए। 

बोटे सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष बोटे पहिलेको तुलनामा माछा मार्ने, जङ्गल जानेलगायतका काम कम हुँदै आएको बताउँछन्। उनका अनुसार अहिले बोटे समुदायले होमस्टे सञ्चालन, सामूहिक माछापालन, बाख्रापालन, खेती किसानीलगायतका काममा लागेर खोला र वनजङ्गल छोडेका हुन्। ‘खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर न्यूरो, तामालगायत ल्याएर बेच्नुभन्दा यही जग्गा भाडा तथा ठेक्का लिएर खेतीपाती गर्ने गरेका छन्’, उनले भने। वैदेशिक रोजगारीमा समेत जाने प्रचलन यो समुदायमा बढ्न थालेको बोटेले जानकारी दिए।
 
माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो होमस्टे सञ्चालन र माछापालनसँगै उनीहरूको जीवनस्तरमा केही सुधार आएको बताउँछन्। उनले होमस्टे निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिए। ‘उनीहरूलाई ज्ञान र सीप दिएर वन र खोलामा आश्रित हुनबाट रोक्नुपर्छ’, उनले भने।
 
खोलामा गएर माछा मार्ने र त्यही माछा बिक्री गरेर जीविकोपार्जन गर्ने बोटे सामुदायलाई वैकल्पिक पेसामा लगाउन सकेमा संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.