|

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासो अन्त्य हुने बताए। 

‘रेडियो थेरापी गराउनु पर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा आउने गरेका छन्,’ पौडेलले भने, ‘अहिले दुई हप्ताभन्दा बढी रेडियोथेरापीमा पालो छैन। कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्नेछु।’ अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिनेगरी काम गर्ने बताए।
 
अस्पतालमा सिटी, एमआरआईलगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलो हुने गरेको भन्दै उनले छिटै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नु नपर्ने बनाइने बताए। कार्यकारी निर्देशक पौडेलले भने, ‘आएकै दिन सिटी स्क्यान गरेर भोलिपल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु।’
 
बिरामी अस्पतालमा छिर्दै गर्दा प्रवेशद्वारबाट नै सुधार गर्नुपर्छ भनेर बडापत्र, बिरामीलाई सूचना दिन सूचना पार्टी, बिरामीका गुनासा सुन्न सुझावपेटिकाको व्यवस्था गरिसकेको उनले बताए। 
 
विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदैगर्दा विधिवतरूपमा दैनिक क्रियाकलापमा केही अप्ठेरो परेको भन्दै कार्यकारी निर्देशक पौडेलले नेतृत्व चयन भएसँगै औषधि, उपकरणलगायतका बोलपत्र आह्वान गरेर काम अगाडि बढाएको जानकारी दिए।
 
क्यान्सर अस्पताललाई सुधार गर्नकै लागि आफू नेतृत्वमा आएको  दाबी गरे। उनले भने, ‘शरूमा म क्यान्सर अस्पताललाई अपडेट गर्छु, स्वास्थ्य सेवाका पाटालाई विशेष प्राथमिकता दिएर भएका न्यूनतम गुणस्तर पूर्ण भइसकेपछि अस्पताललाई स्तरोन्नतितर्फ लाग्छु।’
 
उनले क्यान्सर अस्पताल र क्यान्सरको राष्ट्रिय रेफरल सेन्टर भएर पनि बोनम्यारो ट्रान्सप्लान्ट (प्रत्यारोपण) को सेवा यहाँ नभएको बताए। कार्यकारी निर्देशक डा.पौडेलले भने, ‘हामीले डेढ दुई वर्षभित्र यो अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने गरी काम गर्छौँ।’
 
पेट स्क्यान मेसिन खरिदको प्रक्रिया यसै वर्ष हुने उनको भनाइ छ। उनले भपे ‘यहाँ आएका बिरामीको उपचार सहज, सुलभ हुनुपर्छ, अस्पतालभित्रै हुनुपर्छ भन्ने उद्देश्य हो।’ आफू निजी अस्पतालमा काम नगर्ने भएकाले अधिकांश समय अस्पतालको विकासमा जुट्ने उनले बताए। चार महिनापछि अस्पतालले कार्यकारी निर्देशक पाएको हो। लामो समय कार्यकारी पद खाली हुँदा अस्पतालका सेवा प्रभावित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.