दाङमा ११६ लाई डस्दा ६ जनाको मृत्यु

|

दाङ : जिल्लामा बितेको दुई महिनामा ११६ जनालाई  सर्पले डस्दा  ६ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको तथ्यांक अनुसार गत साउन र भदौ महिनामा ती घटना भएका हुन्। 

कार्यालयका प्रवक्ता एवं डीएसपी जनकबहादुर मल्लका अनुसार साउन महिनामा ५ र भदौ महिनामा एक गरी ६ जनाको मृत्यु भएको हो। मृत्यु हुने ५ पुरुष छन्। 

ज्यान जानेमा घोराही उपमहानगरका एक, लमही नगरपालिकाका एक, शान्तिनगर गाउँपालिकाका  दुई,  गढवा र राजपुर गाउँपालिकाका एक/एक जना रहेका छन्।  यस्तै ६० जना महिला र ५० जना पुरुष घाइते भएका थिए।  

उनका अनुसार जिल्लामा सर्पदंशका घटना राती सुतिरहेका बेला र  खेतीबारीमा काम गर्ने बेलामा भएका छन्। रातीमा सर्पले डस्दा कुन सर्प हो ? भनेर  पहिचान नहुने र खेतबारीमा सर्पले डस्दा अस्पताल टाढा भएर मानिसको ज्यान जाने गरेको  छ।

घाइतेहरूलाई अस्पताल ल्याउन स्थानीय सरकारबाट सहयोग हुने गरे पनि  समयमा अस्पताल पुर्‍याउन नसक्दा ज्यान जाने गरेकोसमेत उनले बताए। 

उनले भने, 'समयमा अस्पताल ल्याउन सक्दा धेरैलाई बचाएको अवस्था पनि रहेको छ। केही घटनामा ढिला ल्याउँदा ज्यान गएको अवस्था हो। त्यसैले सर्पले डसेमा कुन सर्प हो ? पहिचान गरेर झारफुकतर्फ नलागी समयमा अस्पताल पुर्‍याउन सकेमा बिरामीको ज्यान बच्न सक्छ। त्यसैले यसतर्फ ध्यान दिन जरुरी छ।’

दाङको गढवा गाउँपालिकामा रहेको दाङ देउखुरी सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा विषालु सर्पले डसेकाभन्दा अविषालु सर्पले डसेका धेरै उपचार गर्न आएको केन्द्रले  जनाएको छ। केन्द्रका अनुसार जम्मा १९७ जना उपचार गर्न आएका थिए। त्यसमा कीरा तथा बिच्छीले टोकेका २८ जना थिए। 

राप्ती प्रादेशिकमा भेन्टिलेटर सेवा नहुँदा समस्या

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी ७४ जना सर्पले डसेका बिरामी उपचार गर्न आएका थिए। त्यसमा केही अविषालु र विषालु सर्पले डसेका रहेको अस्पतालले जनाएको  छ। 

अस्पतालमा धेरै गोमन सर्पले डसेका उपचार गर्न आउने गरेको समेत अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारीले बताए। उनका अनुसार दाङमा गोमन सर्प र पहाडी जिल्लामा अन्य विषालु सर्पले डसेका बिरामीहरू आउने गर्छन्। अस्पतालमा भेन्टिलेटर सेवा नहुँदा सर्प दंशका बिरामीले पूर्णरुपमा उपचार गर्न  कठिनाइ भइरहेको समेत उनले बताए। 

सर्पले डसेका व्यक्तिलाई विष लागेको लक्षण अनुसार उपचार गरिने उनको भनाइ छ तर नेपालभर जुन सर्पले डसे पनि चलाउने एउटै औषधि रहेको चिकित्सक बताउँछन्।

सर्प नचिन्दा मारिन्छ

विगत २ वर्षदेखि सर्पको उद्धार गर्दै आइरहेका तुलसीपुरका प्रभात भण्डारीका अनुसार मानिसहरूले कुन विषालु हो ? कुन अविषालु हो? भन्ने थाहा नपाउँदा विषालु सर्प ठानेर मार्ने गरिएको छ।

सर्पले हामीलाई देख्ने वित्तिकै आक्रमण गर्दैन। उसलाई समस्या भएपछि मात्र आफू बाँच्नका लागि आक्रमण गर्छ तर यहाँ सर्प देख्ने वित्तिकै मार्ने चलन रहेको उनले बताए।

जिल्लामा कोब्रा, करेत, हरियो कानो र किङ कोब्रालगायत विषालु सर्प पाइनेसमेत उनको भनाइ छ। उनका अनुसार सर्पले मानिसहरूलाई मार्ने कुनै पनि उद्देश्य हुँदैन। सर्पहरू घरमा आउने भनेको मुसा खान र करेत सर्प भने न्यानोपनका लागि आउने  गर्छ। 

अन्धविश्वसले मानिसको ज्यान जान्छ

कुनै पनि सर्पले डसेको खण्डमा शुरुमा मानिसहरू अस्पताल नभइ झारफुक गर्न जाने गर्दा नै मृत्यु हुने गर्दछ। यदि समयमा अस्पताल पुर्‍याउन सकेमा मानिसहरू ज्यान बच्ने भएकाले यसमा सचेतना फैलाउन जरुरी रहेको समेत उनको भनाइ छ।

उनले भने, 'अविषालु सर्पले डसेको हुन्छ। तर, मानिसहरू झारफुक गर्दा निको भयो, भन्ने अन्धविश्वास छ। जसले गर्दा विषालु सर्पले डसे पनि मानिसहरू झारफुकमा लाग्दा समय बित्दै जाने र अन्तिममा अस्पताल लैजाँदा निधन हुन्छ। कुनै पनि विषालु सर्पले डसेमा झारफुक गरेर निको हुँदैन। यसमा सबैले ध्यान दिन जरुरी हुन्छ।’  

यस्तै उनले सर्पले डसेमा चिरफार वा डोरीले बाँध्न नहुने समेत बताए। डोरीले बाँधेपछि रगत सञ्चालन नहुँदा समस्या हुने र आफैँ  चिरफार गर्दा रगत धेरै बग्ने भएकाले पनि मानिसहरूको मृत्यु हुने समेत उनको भनाइ छ। कुनै पनि विषालु सर्पले टोकेपछि कसैले विष नछोडेको पनि हुनसक्ने समेत उनको भनाइ छ। 

उनले वायुमण्डलमा हुने जति पनि विषाक्त चिज छन्, त्यो सर्पले लिने भएकाले वातावरणमा पनि राम्रो हुने हुँदा कुनै पनि सर्पलाई मार्न नहुनेसमेत बताए।

उनले भने,‘यदि वातावरणमा सर्प नभए मुसा अत्याधिक बढ्छ। मुसा बढी भए अन्नबाली केही बाँकी रहँदैन्। त्यसले गर्दा पनि सर्प जोगाउने अभियानमा लागेको हुँ।’                          

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.