|

तुलसीपुर : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका वेला दाङस्थित माओवादी लडाकुको ब्यारेक अलपत्र छ। तिनै लडाकुका कमाण्डर प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन्।  

हुनत तुलसीपुर उपमहानगरले आव २०७६।०७७ मा १९ न‌ं वडास्थित सक्राम ब्यारेकलाई ‘क्रान्ति संग्रहालय’ बनाउने योजना अघि सारेको थियो। पूर्व माओवादी लडाकुहरू बसेको उक्त ब्यारेक खण्डहर बन्दै गएको अवस्थामा उपमहानगरको यो नीतिले स्थानीय बासिन्दा खुशी भएका थिए।

राज्यको करोडौँ लगानी रहेको ठाउँमा उपमहानगरले अपनत्व लिन लागेको भन्दै खुशी भएका उनीहरू अहिले दुखी भएका छन्। स्थानीय विभीषण रोका मगर राज्यले समयमा ध्यान दिन नसक्दा ब्यारेक भग्नावशेष बनेको बताए। राज्यले सेना समायोजनपछि यसलाई सदुपयोग गर्न नसकेको उनको गुनासो छ।

‘क्रान्ति संग्रहालय’ बनाउने घोषणा गरेदेखि हालसम्म माओवादी केन्द्र सत्तामा छ। यसअघि पनि माओवादी सत्तागठबन्धनमा सहभागी थियो। यसैगरी लुम्बिनी प्रदेशमा पनि अहिले माओवादी केन्द्र सत्तारुढ छ। तैपनि संग्रहालय बनाउन उनीहरू उदासीन देखिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

उनले भने, ‘न यसको विकास भएको छ न त सदुपयोग। २०६८ देखि २०७५ सम्म भौतिक संरचना सुरक्षार्थ सशस्त्र प्रहरी बसेको थियो‚ त्यो पनि गयो। त्यसले उपमहानगरलाई जिम्मा दिएको थियो। उपमहानगरले वडालाई र वडाले स्थानीयलाई संरक्षणको जिम्मा दिए।’

स्थानीय बासिन्दाले आफैं यसको संरक्षण गरे पनि सरकारले कुनै सहयोग नगरेको उनको भनाइ छ। उनका अनुसार यहाँका धेरै संरचना भत्किएका छन् र केही चोरी भएका छन्। त्यसपछि स्थानीयले रेखदेख गर्दै आएका थिए। केही वर्षदेखि उपमहानगरले एकजना हेरालुको व्यवस्था गरेको छ।

उनले भने, ‘पटक पटक संघ र प्रदेशमा माओवादीको सरकार बन्छ तर यसको विकास गरी इतिहास जोगाऔँ भन्ने ध्यान कहिले गएन। माओवादीसँग इच्छाशक्ति नभएको हामीलाई महसुस हुन्छ। हामीले नेता तथा मन्त्रीहरूलाई यसको बारेमा डीपीआर समेत बुझाएका छौँ‚ अहिलेसम्म कसैले ध्यान दिएनन्।’

यसको संरक्षण र विकास गरेर क्रान्ति संग्रहालय बनोस् भन्ने आफूहरूको चाहना भएको समेत उनले बताए। यो क्रान्ति संग्रहालय बने पर्यटकीय स्थल बन्ने र यसको विकास पनि हुने उनको भनाइ छ। माओवादी लडाकु बसेपछि सडक, विद्युत्, खानेपानी लगायत यहाँको चहलपहल निकै हुने गरे पनि अहिले सुनसान रहेको उनले बताए।

स्थानीय कुलबहादुर केसीले ब्यारेकको अहिलेको अवस्था देख्दा दुःख लाग्ने बताए। उनले पछिल्लो समय ब्यारेक खण्डहर बनेको भन्दै राज्य नभएको महसुस हुने गरेको गुनासो गरे।

उनले भने, ‘यसको विकास र संरक्षण गरेर पहिलाको जस्तै चहलपहल होस् भन्ने हाम्रो चाहना हो। लडाकुहरू यहाँ बस्दा स्थानीय उत्पादन बिक्री हुँदा सबैलाई राम्रो भएको थियो‚ अहिले सुनसान छ।’

उनका अनुसार राज्यले यसलाई क्रान्ति संग्रहालयको रूपमा विकास गर्नुपर्छ, होइन भने सबै संरचना हटाउनुपर्छ। राज्यको करोडौँ लगानी रहेका संरचना जीर्ण हुँदै गएको भन्दै उनले राज्य योजनाविहीन बनेको बताए।

गाउँलेको सहयोगमा केही संरचना बचेका छन्  : वली
क्रान्ति संग्रहालयका अध्यक्ष देवराज वलीले राज्यले हेर्नुपर्ने दायित्व भए पनि अहिलेसम्म नहेरेको बताए। उनले भने, ‘हामी गाउँलेले एकदुई सय रुपैयाँ उठाएर यहाँको घाँस बेचेर अहिलेसम्म मर्मत सम्भार गर्दै आएका छौँ। स्थानीय सरकारले एकजना हेरालुको व्यवस्था गरेको छ।’

उनका अनुसार तत्कालीन समयमा माओवादी लडाकुलाई व्यवस्थापन गर्नुपूर्व सडक, विद्युत् र पानीको समस्या थियो। लडाकुहरू बस्न लागेपछि सबै सहज बन्यो। बाआमाका पालि एक गाग्री पानी लिन घन्टौँ जानुपर्ने बाध्यता थियो। ब्यारेक स्थापनासँगै गाउँमा धाराको पानी आयो।

सेना समायोजन भएपछि केही वर्ष सशस्त्र प्रहरी बसेको र त्यो पनि गएपछि यहाँका संरचना चोरी हुन थालेका छन्। स्थानीय बासिन्दाले प्रदेश सरकार, संघीय मन्त्री तथा माओवादीका नेताहरूलाई समेत विकास र संरक्षणका लागि ज्ञापनपत्र, डीपीआर बुझाएको र कसैले चासो नदिएको उनले बताए।

उनले भने, ‘यहाँबाट लडाकु गएपछि यो ठाउँलाई क्रान्ति संग्रहालय बनाउनुपर्छ भन्दै हामी लागेका हौँ। यहाँ २००७ सालदेखि देशमा भएका क्रान्तिका बारेमा राखेर इतिहास बचाउन खोजेका हौँ।’

यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके यहाँको विकास र समृद्धिमा टेवा पुग्ने उनको विश्वास छ। सरकारले यसका लागि चासो नदेखाउँदा आफूहरू निरास भएको उनले बताए। ब्यारेक स्थापना गर्ने वेला आर्थिक समृद्धिको देखाए पनि अहिलेसम्म चासो नदिनुमा राज्यको कमजोरी भएको उनको भनाइ छ। त्यसमा पनि माओवादी नेताहरूले चासो नदिएको भन्दै उनले गुनासो गरे।

करिब दुई हजारभन्दा बढी लडाकु बसेको ब्यारेकमा एक सयभन्दा बढी संरचना रहेकोमा अहिले ६५ वटा जति मात्रै बचेका छन्। २०६४ देखि २०६८ सम्म गरी ४ वर्ष माओवादी लडाकु बसेका थिए। ब्यारेकमा जवान आवास, कार्यालय कक्ष, स्नानगृह, भान्साघर, शौचालय, खेलमैदान तथा युद्धाभ्यास गर्ने सुविधा समेत छ।

संग्रहालय बनाउने योजना छ, तर हाम्रो बजेटले भ्याउँदैन : नगरप्रमुख खड्का
तुलसीपुर उपमहानगरका नगरप्रमुख टीकाराम खड्काले सक्राम ब्यारेकलाई संग्रहालय बनाउने योजना उपमहानगरको भए पनि बजेट धेरै लाग्ने भएकाले उपमहानगरले मात्र नसक्ने बताए। उनले आफूहरूको योजनालाई संघ र प्रदेश सरकारले सहयोग गरे मात्र पूरा हुने बताए।

उनले यसलाई संग्रहालयको रूपमा विकास गर्न सके दुनियाँले यहाँ आएर लेख्ने, पढ्ने अवसर पाउने बताए। उनका अनुसार १८ औँ शताब्दीमा राजा मेघनाथ शाहले राज्य कब्जा गर्दा युद्ध जितेको ठाउँ सक्राम हो। पछि माओवादीका लडाकु व्यवस्थापन गर्न बसेको ठाउँ पनि हो। अहिले उपमहानगरले यहाँ भएका संरचना जोगाउँदै इतिहाससँग जोड्न चाहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.