|

दाङ :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धबाट यसैगरी अगाडि बढेमा सत्ता गठबन्धनसँगै नेपाली  कांग्रेसको भविष्य समाप्त हुने बताएका छन्।

शनिबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले गठबन्धनभित्र गठबन्धन बनाएर प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने खेलमा लागेको समेत आरोप लगाए।

उनले समाजवादी मोर्चा सत्तामा रहेकाहरूको गठबन्धन भित्रको गठबन्धन भएको भन्दै त्यो कांग्रेससँग बार्गेनिङ गर्नको लागि र त्यसको नेपालको राजनीतिमा कुनै अर्थ नभएको समेत दाबी गरे।

उनले भने, ‘ त्यो कांग्रेससँग बार्गेनिङको लागि बनाएको मोर्चा भएको र कांग्रेसले त्यसलाई बुझ्न जति ढिला गर्छ, कांग्रेस नेपालको राजनीतिमा भूमिका खेल्नबाट चुक्छ।’

यस्तै, उनले विगतका माओवादी पार्टीलाई बोक्दा एमाले र कांग्रेसले गल्ती गरेको भन्दै आज देशले जे दु:ख पाएको छ। त्यो हुनुमा दुईवटा ठूला पार्टीले साना पार्टीहरूलाई बोक्दाको परिणाम भएको समेत बताए। 

उनले भने, ‘ त्यो कुराको महसुस गरेर अब त्यो गर्नु हुँदैन, भन्ने एमालेको मान्यता रहेको छ। तर,  कांग्रेसले अझै पनि पुरानै मान्यतामा रहेको छ।  त्यो मान्यताबाट कांग्रेस बाहिर आएन, भने देश पनि डुब्ने कांग्रेस पनि डुब्ने स्थिति आउन सक्छ।’

यस्तै उनले जनताले स्पष्ट जनता देश नदिँदा अहिले पनि सत्तामा गठबन्धन रहेको भन्दै जति दिन सत्तामा  गठबन्धन रहेनछ, त्यति दिन नै मुलुक सङ्कटमा पर्दै जाने पनि उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्ड छिमेकी दुई मुलुकको विदेश भ्रमण जाँदा नेपालको राष्ट्रियहितको लागि केही काम गर्न नसकेको आरोप लगाए।  उनले भने, ‘भारतमा जाँदा नेपालको नयाँ नक्साको बारेमा, भारतीय तटबन्धनका कारण नेपाली भूमि डुबानको बारेमा पहल गर्नुहोला, भन्ने हामीहरूले भन्दा प्रधानमन्त्रीले  सम्बन्ध बिग्रिन्छ, भनेर कुरा गर्नुभएन।

भारतले मागेका जलविद्युत् आयोजना दिनेमा हस्तान्तरण गर्नुभयो र मुर्रा भैँसी ल्याउने चर्चा भयो। चिन भ्रमणमा जाँदा पनि देशको  हितको लागि कुनै काम भएन।’

यस्तै, उनले अहिले एमालेलाई सरकार प्राथामिकता नभएको समेत बताए। एमालेको ध्यान मिसन २०८४ मा रहेको भन्दै कोसी प्रदेशमा स्थायित्वको लागि गरेका प्रयासहरू असफल भएपछि एमालेले सहयोग गरेको बताए।

उनले भने, ‘संविधानको धारा १६८ को उपधारा ९ ५० बमोजिम सरकार भएपछि विगतमा अदालतले गरेको व्याख्याअन्तर्गत त्यो एक प्रकारको निर्दलीय सरकार जस्तो बन्न पुगेको छ। लोकतन्त्रमा त्यो उचित होइन।’

यस्तै, महासचिव पोखरेलले मुलुकमा बलिया राष्ट्रिय शक्तिहरूको निर्माण हुन जरुरी रहेको समेत बताए। अहिले जनताहरूमा भएको निराशाको लाभ लिनको लागि नयाँ शक्तिका नाममा जनमतलाई भड्काउने खालको प्रयत्न भइरहेको हुँदा त्यो समस्यामा समाधान नहुने पनि तर्क गरे।

दुनियाँका कहिँ पनि  पपुलिस्टहरूले सङ्कटको समाधान नगरेको समेत उनले बताए।

यसैगरी उनले धार्मिक अतिवादलाई राजनीतिको विषय बनाएर राजनीति गर्न खोज्नेहरूले मुलुकलाई अझै सङ्कटमा पार्ने भन्दै उनीहरूको माध्यमबाट देशको समस्याको समाधान नहुने पनि उल्लेख गरे।

लोकतन्त्र र गणतन्त्रको  समाधान प्रस्यागमन  र  प्रतिगमन नभएको भन्दै उनले जनताले फालेको राजतन्त्रबाट समस्याको समाधान खोज्नु भनेको मुलुकलाई पछाडि ढकल्ने प्रयत्न रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.