|

दाङ : तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारका सोनुराज चौधरी विसं २०५४ सालदेखि घोडाको संगत गर्दै आएका छन्। यो उनको पुर्ख्यौली पेशा हो। उनका बाउ बाजेले पनि घोडा लाद्ने काम गरेका थिए।

उनले पनि यो पेशाबाट आफ्नो जीविका चलाउँदै आएका छन्। गाउँघरबाट धान, मकै, तोरी मसुरो जस्ता अन्नहरू खरिद गर्ने र घोडाबाट त्यसलाई बजारमा लगेर बेच्दै आएका उनले अहिलेसम्म १ बिघा १५ कठ्ठा जमिन जोडेको बताउँछन्।

गाउँघरमा सवारीसाधनको पहुँच नभएको अवस्थामा राम्रो आम्दानी हुने गरेको भए पनि पछिल्लो समय गाउँगाउँमा सडक तथा सवारीसाधन पुगेपछि आम्दानी पनि घट्दै गएको उनले बताए। 

उनले भने, ‘हाम्रो जग्गा जमिन केही पनि थिएन। यही घोडा लाद्ने कामबाट अहिले जग्गा जमिन जोड्न सकेको छु। अब यो पेशाभन्दा अरु पेशा गर्न मन लाग्दैन तर पछिल्लो समय आम्दानी थोरैमात्र हुन्छ। यदि कारणवश घोडालाई केही भएमा बिमा नहुँदा हामीले पूरै नोक्सान बेहोर्नु पर्छ।’

उनका अनुसार पछिल्ला केही वर्षदेखि पशु स्वास्थ्य तालिम केन्द्र दाङले घोडालाई औषधी दिनेलगायत रोगबाट बचाउन सहयोग गर्दै आइरहेको छ। तर अहिलेसम्म अन्य पशुहरूको जस्तै घोडाको बिमा गर्न नपाउँदा समस्या भएको छ। 

उनले भने, ‘राज्यले हामीहरूले हेला गरेको छ। अन्य पशुहरूको बिमा गर्न मिल्छ तर घोडाको गर्दैनन्। यो पनि पशु नै त हो।’ 

यस्तै तुलसीपुर-११ नवलपुरका नोखिराम बस्नेतले पनि विगत ५० वर्षदेखि घोडा पाल्दै र घोडा लाद्नै काम गर्दै आएका छन्।

उनलाई पनि आधुनिक सवारीसाधन र मेसिनको प्रयोग बढेपछि घोडा व्यवसाय सङ्कटमा पर्न लागेको चिन्ता रहेको छ। आफ्नो जीवनको ५० औँ वर्ष यिनै घोडासँग बिताएको भन्दै उनले यसको बिमा नहुँदा आफूजस्ता अरु किसानहरू पनि मर्कामा परेको बताए। 

उनलाई पनि राज्यले अन्य पशुसरह घोडालाई असमान व्यवहार गरेकोप्रति चित्तदुखाइ छ। अन्य पशुसरह घोडाको पनि बिमाको व्यवस्था हुनुपर्ने उनको माग छ।

उनले भने, ‘हाम्रा घोडाहरू कुनै समयमा सडक र गाडीको पहुँच नभएको ठाउँमा पुग्थे। अहिले हामीले तुलसीपुर बजारमा ल्याएर खाद्यान्न बिक्री गर्ने गरेका छौँ तर पहिलाको जस्तो बिक्री हुँदैन।’

उनले केही वर्ष पहिले राज्यले घोडाको बिमा गरेको भए पनि अहिले बन्द गरेको उनले बताए। उनका अनुसार ५० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी मूल्यमा किसानहरूले घोडा किन्ने गरेका छन्। तर बिमा नहुँदा कुनै पनि रोगले मरेपछि त्यस किसानको दैनिकी चल्न समस्या हुने गर्छ। 

उनले भने, ‘एक पटक मेरो ४५ हजारको घोडा मरेको थियो। घोडाको बिमा नहुँदा मैले कतैबाट राहत पाइनँ। अर्को घोडा किन्न पैसा नभएपछि भारत गएर कमाएर आएपछि फेरि घोडा किनेँ। यस्तो समस्या मैले मात्र नभइ सबै घोडा पाल्ने किसानहरूले भोग्दै आएका छौँ।’

उनले किसानहरूले घोडा रहरले नभइ व्यवसाय गर्न साहुसँग ऋण गरेर किन्ने गरेको भन्दै राज्यले बिमा नगरिदिँदा आफूहरूलाई अन्याय परेको गुनासो गरे। 

तुलसीपुरमा मात्रै महिलाका २ र पुरुषका ५ गरि ७ वटा घोडा पाल्ने समूह छन्। तुलसीपुर क्षेत्रमा मात्रै किसानले करिब १३० वटा जति घोडा पालेका छन्। त्यसबाहेक इँटाभट्टामा काम गर्न ल्याइएका सिजनल घोडाहरू ५० देखि ६० वटासम्म  रहेका छन्।

वर्षेनि एकदिने घोडा स्वास्थ्य शिविर हुँदै

घोडा पाल्ने किसानको पिरमर्का बुझेर नै पशु स्वास्थ्य तालिम केन्द्र दाङको प्राविधिक सहयोगमा ५ वर्षदेखि तुलसीपुर क्षेत्रमा किसानले पाल्दै आएका घोडाहरूको लागि स्वास्थ्य शिविर हुँदै आएको छ।  

केन्द्रका जिल्ला संयोजक रमन मिश्रका अनुसार  किसानहरूले पालेका र इँटाभट्टामा  प्रयोग गरिएका घोडाहरूलाई मध्यनजर गर्दै टिटानसविरुद्धको भ्याक्सिन र जुकाको औषधी उक्त शिविरमा खुवाइन्छ।

उनले भने, ‘जिल्लामा घोडा पालक किसानहरू धेरै हुनु हुन्छ। म यहाँ आएपछि घोडाहरूको बारेमा जानकारी लिँदा कसैले पनि घोडालाई टिटानसको भ्याक्सिन दिएको पाइएन। घोडालाई टिटानस जटिल समस्या हो‚ मैले सबैलाई बुझाउँदै गएपछि विगत ५ वर्षदेखि एकदिने स्वास्थ्य शिविरको आयोजना गरेर भ्याक्सिन दिने काम भइरहेको छ।’ उनले घोडा बिमाको समस्या रहेको बताए।

उनले भने, ‘२ वर्ष पहिले ७० भन्दा बढी घोडाको बिमा भएको थियो। घोडा मरेपछि ४ जना किसानले बिमाबापत राहत पाएका थिए तर पछिल्लो समय बिमा गर्ने काम रोकिएको छ।’ बिमा रोकिएपछि अहिले यसले जटिल समस्या आएको समेत उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.