१० बिघा जग्गा भाडामा लिएर लगानी बढाउँदै

|

दाङ :  तुलसीपुर उपमहानगरपालिका ५ बस्ने राजु थापाले तुलसीपुर  १२ र १६ र मा गरी विगत ४ वर्षदेखि १० बिघा जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले तुलसीपुरमा होटल व्यवसाय पनि गर्दै आइरहेका छन्।

 कोरोनाको बेलामा सबै क्षेत्रहरू बन्द भएपछि उनी लगायत केही युवाहरू मिलेर तरकारी खेती गरेको भएयता पनि पछि अरु साथीहरूले समय अभावका कारण यो व्यवसायबाट हात झिकेपछि अहिले उनले मात्र गर्दै आइरहेका छन्।

उनले भने,‘कोरोनाका कारण पहिलो चरणमा लकडाउन भएपछि सबै व्यापारीहरू बन्द भएपछि ४÷ ५ जना साथीहरू मिलेर यो व्यवसाय शुरु गरेका थियौँ। पछि अरु साथीहरू विभिन्न कारणले समय दिन नपाएपछि छाड्नुभयो। मैले अहिलेसम्म निरन्तर गर्दै आएको छु।’

तुलसीपुर १२ डोक्रेनामा ७ बिघा र तुलसीपुर १६ मा ३ बिघा गरी जम्मा १० बिघामा विभिन्न खालको तरकारी खेती गर्दै आइरहेको समेत उनले बताए। 

यस्तै उनले पछिल्लो समय वर्षाका  कारण धेरै टमाटर खेतीमा क्षति पुगेको समेत बताए। उनले भने, ‘अहिलेको सिजनको लागि टमाटर खेती गरिएको थियो। निरन्तर वर्षाका कारण करिब डेढ बिघा जतिमा रहेको टमाटर पूरै क्षति भएको छ। टनेलबाट खेती गर्नु पर्ने हुन्छ। तर, खर्च धेरै लाग्ने भएकाले जोखिम लिएर गरेको खेतीमा ठूलो क्षति भयो।’ 

उनका अनुसार अहिले टमाटर, काँक्राहरू बिक्री  भइरहेका छन्। अबको केही दिनमा काउली, भान्टा लगायतको तरकारीहरू तयार हुन्छन्। अहिले दैनिक दिन बिराएर १५- २० क्विन्टल जति टमाटर र काँक्रा उत्पादन भइरहेको समेत उनले बताए। 

बिचौलियाको मार

उनका अनुसार आफूहरूले उत्पादन गरेका तरकारीहरू बिचौलियाहरूका कारणले गर्दा भने जति मूल्य पाइदैन्। उनले भने, ‘दुई  तिन दिन  अगाडि ५० रुपैयाँ किलो बिक्री हुने टमाटर अहिले ३० रुपैयाँ किलो बिक्री गर्नु पर्छ। भारतबाट आएको भन्दै मूल्य घट्ने गरेको छ। जसले  गर्दा  पनि हामी जस्ता किसानहरूलाई समस्या भइरहेको छ।’

यस्तै उनले स्थानीय सरकारले आफूहरू जस्ता किसानहरूले उत्पादन गरेको वस्तुको बजारिकरणको व्यवस्थापन गरिदिए सहज हुने पनि बताए।

‘एउटा बिरुवालाई उत्पादन गर्न करिब ४० रुपैयाँ खर्च हुन्छ। त्यहीबाट उत्पादन भएको बस्तु हामीले बिक्री गर्दा ५ - १० रुपैयाँमा बिक्री गर्नु पर्ने स्थिति रहेको छ। पैसा जति अरुले कमाउँछन्। हामीले त दुख मात्र गर्ने हो। त्यसैले गर्दा हामीलाई निकै समस्या भएको छ।’ वार्षिक  कठ्ठाको २५ सय रुपैयाँको दरले जग्गा भाडामा लिएको पनि उनको भनाइ छ। अहिले कृषि फर्ममा एक जना प्राविधिक सहित ८ जना कर्मचारीहरू रहेको उनले बताए। कामको सिजनमा ३०-३५ जना सम्म ज्यालादारीमा काम  गर्ने गरेको उनको भनाइ छ।

करिब ७५ लाख लगानी, अहिलेसम्म घाटामा

शुरुमा साथीहरूसँग मिलेर यो व्यवसाय गर्दा करिब करिब ७५ लाखसम्म लगानी लागेको समेत उनले बताए।

विगतका वर्षहरूमा  ५ प्रतिकिलोका दरले समेत टमाटरहरू  बिक्री नहुँदा सबै बारीमा फालेको भन्दै उनले अहिलेसम्म तरकारीले राम्रो मूल्य नपाउने गरेको गुनासो गरे।

उनले भने, ‘अहिलेसम्म नाफाभन्दा पनि घाटैघाटा बेहोर्दै आएको छु। तर, हिक्मत हारेको छैन।’ यस्तै उनका अनुसार ३ वर्ष अगाडि तुलसीपुर उपमहानगरबाट २ - ३ लाख सहयोग पाएको र अहिले कृषि ज्ञान केन्द्र दाङले करिब ३ बिघा जमिनको  ३ वर्षसम्म भाडा तिरिदिने सहमति भएको छ।

करिब ६ सय किसान जिल्लामा व्यवसायिक तरकारी खेती गर्दै

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा ५७५ जना किसानहरूले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्।

व्यावसायिक रुपमा  गरेको खेती र अन्य किसानहरूले गरेको खेतीले जिल्लामा ९६ हजार ५२० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको समेत उनको भनाइ छ।

त्यसमध्ये ३०  हजार २९५ मेट्रिक टन तरकारी जिल्लाबाहिर जाने गरेको पनि उनले बताए। अन्य तरकारी जिल्लाका स्थानीय बजारहरूमा  बिक्री हुने भन्दै उनले दाङ तरकारीले आत्मनिर्भर रहेको समेत बताए। उनले भने, ‘जिल्ला तरकारीमा आत्मनिर्भर बनेको छ। तर, अफ सिजनमा कहिँले काहीँ  जिल्ला बाहिरबाट तरकारीहरू ल्याउनुपर्छ, भने यहाँ उत्पादन भएको तरकारी पनि बाहिर जान्छ।’ 

 उनका अनुसार तरकारी खेती गर्न किसानहरूलाई रोग र प्रकृतिबाट पनि जोखिम रहेको छ। उनले भने,‘ हामीले त्यो जोखिम कम गर्नको लागि किसानहरूलाई प्लाष्टिकका टनेलमा खेती गर्न सुझाव दिएका छौँ। कतिपयलाई विभिन्न कार्यक्रम अन्तर्गत टनेलहरू दिएका छौँ।’

विभिन्न ठाउँमा हाट बजार बनाउँदै तुलसीपुर

अहिले तरकारी खेती गर्ने किसानहरूले पर्याप्त मात्रामा आम्दानी लिइरहेको तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले बताए। उनले भने, ‘यो ३ महिनाको बिचमा किसानहरूले पर्याप्त आम्दानी लिनु भएको छ। तर, सिजन र अफ सिजनमा तरकारी खेतीहरू हुने गर्दछन्। अफ सिजनमा यहाँका किसानहरूले भारतको बजारलाई थेग्न सक्दैनन्।’

यस्तै चोरी निकासी गरेर रातमा आउने तरकारीहरूलाई रोक्नको लागि उपमहानगरले काम गरिरहेको समेत उनले बताए। उनले भने,‘  भारतबाट  आउने  तरकारीहरू व्यापारको लागि मात्र उत्पादन गरेको हुन्छ। जसमा धेरै विषादी हुन्छ। हामी सबैले विष खाइरहेका छौँ। हामीले यहाँका किसानहरूलाई अर्गानिक खेती गर्न आग्रह गरेको छौँ। यदि किसानहरूले गरेको अर्गानिक तरकारी बिक्री नभएको खण्डमा हामी क्षतिपूर्ति दिने भनेको छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.