आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक रोजाइ बन्दै ताल

|

सुर्खेत : डोल्पाको सदरमुकाम दुनै सम्म यातायात सेवा पुगेसँगै डोल्पाको शे फोक्सुण्डो गाउँपालिका भित्र पर्ने फोक्सुण्डो ताल खुल्नेको संख्या वृद्धि भएको छ। विगतका वर्ष भन्दा सडक सञ्जालसँग पहुँच बढेसँगै डोल्पाको फोक्सुण्डो तथा अन्य ठाउँमा घुम्न आउनेको संख्या वृद्धि भएको हो। भूगोलले ठुलो मानिएको डोल्पा आउन र जान त्यति सहज भने छैन। दुनै सलिगाड देखि फोक्सुण्डो ताल सम्म पुग्न थुप्रै काठको लाप्कोरुको सहायताले फोक्सुण्डोबाट निस्किएको पानी वारपार गर्नुपर्ने हुन्छ। झण्डै दुइ दिन लगाएर ताल सम्म पुगेपनि सो ठाउँबाट माथिल्लो भागमा पुग्न हप्ता दिन नै लाग्ने गर्दछ। अहिले चिसो बढेका कारण थप समस्य बन्दै गएको छ। चिसो र अप्ठ्यारो बाटो छिचोल्दै आन्तरिक तथा बाह्य पर्यटकहरू ताल सम्म नपुगी कोही पनि फर्कदैनन्।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले दिएको जानकारी अनुसार भदौदेखि कात्तिक १५ गतेसम्म मात्र विदेशी तथा आन्तरिक गरी दुई हजार पर्यटकले फोक्सुण्डो तालको घुमेका छन्। सडक यातायातको पहुँचसँगै डोल्पा घुम्न आउने पर्यटकको सडकको पहुँच बढ्नु , जहाजबाट सहज हुनु , टेकिङ र उच्च भागमा घुम्नेको संख्या बढ्नु सकारात्मक भएको संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए। मीठो खाने मात्र होइन, अब घुम्ने पनि मानिसको शोख बढेको उनको भनाइ छ।

पछिल्लो समय फोक्सुण्डो ताल हेर्न आउने पर्यटकहरूमा सबैभन्दा आन्तरिक छन्। तीन महिनामा आन्तरिक पर्यटक एक हजार ८१९, सार्क मुलुकका तीन र विदेशी एक सय दुई गरेर एक हजार ९२४ जना फोक्सुण्डो ताल हेर्न आएको अधिकृत श्रेष्ठले बताए।

कात्तिक १ देखि १५ गतेसम्म मात्र  एक हजार २५७ जना पर्यटक फोक्सुण्डो ताल घुम्न आएका हुन्। फोक्सुण्डो ताल जाने प्रवेशद्वार सुलिगाडस्थित निकुञ्ज कार्यालय नजिक भिमपुलसम्म नै मोटरसाइकलबाटै यात्रा गर्न सकिने भएपछि आन्तरिक पर्यटकको संख्या बढेको हो। जाजरकोट र रुकुम पश्चिमबाट बिहान हिँड्दा बेलुकी डोल्पा पुग्न सकिन्छ। ११८ किलोमिटर कुल लम्बाई जाजरकोट सदरमुकामबाट डोल्पासम्मको छ। त्यस्तै पुरै भेरी करिडोरको लम्वाइ ३१० किलोमिटर रहेको छ। त्यस्तै मध्यपहाडी लोकमार्गबाट झन सहज बनाएको छ।

आर्थिक वर्ष ०७९–०८० मा डोल्पा घुम्न आउने नेपाली पर्यटकमा १ सय १५ महिला ८७ पुरुष गरि २ सय २ जना थिए। सार्क मुलकबाट ३ जना महिला १३ जना पुरुष गरी १६ जना घुम्न आएका थिए।  यसैगरी, अन्य विदेशी पाहुनाहरूमा १ सय ६९ जना महिला र २ सय ४९ गरेर ४ सय १८ जना गरी ३ हजार ७ सय ८२ जना पर्यटक डोल्पा घुम्न आएको निकुन्जका अधिकृत श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपाली नागरिक सार्कमुलकका नागरिक र विदेशी नागरिकबाट प्रवेश शुल्क बापत १६ लाख १२ हजार आठ सय रूपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष ०७८–०७९ मा नेपाली १ सय ७३, सार्क मुलुकका ३९ जना र अन्य विदेशी १ सय १७ गरेर ४ हजार ३ सय ७९ जना पर्यटकबाट रु ७ लाख पचासी हजार ६ सय राजस्व उठेको थियो। यो पर्यटक संख्या र राजस्व गत आवको भन्दा दोब्बरले बढी हो। निकुञ्जले डोल्पा घुम्न आउने नेपाली नागरिकलाई प्रवेश शुल्क बापत प्रतिव्यक्ति १ सय रूपैयाँ सार्क मुलुकका नागरिकबाट प्रति व्यक्ति १ हजार पाँचसय रूपैयाँ र अन्य विदेशी नागरिकबाट प्रति व्यक्ति ३ हजारका दरले प्रवेश शुल्क उठाउने गर्छ।

सवारीसाधन व्यवस्थापनमा समस्या

 मोटरसाइकलबाट फोक्सुण्डो ताल हेर्न आउने पर्यटकको संख्या वृद्धि भएपछि सुलिगाडस्थित भिमपुलनजिक निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको सुरक्षा चेक प्वाइन्टमा मोटरसाइकल पार्किङको सुविधा नभएपछि बेवारिस अवस्थामै सडकको दुई किनारमा मोटरसाइकल पार्किङ गर्नुपर्ने अवस्था छ।

फोक्सुण्डो तालको धेरै महिमा सुनेको थिए तर सुनेको र टेलिभिजनमा देखाइएको भन्दा पनि अधिक सुन्दर रहेछ अहिले आफै तालमा पुगेर आएपछि थप सुन्दरता थाहा भयो सुर्खेत सिम्ता गाउँपालिका राकमका प्रविण बुढाले बताए ।

फोक्सुण्डो ताल हेर्दा जति सुन्दर र अलौकिक छ त्यसको बयान गर्न नसकिने भन्दै सुलिगाडदेखि तालसम्म पुग्ने अव्यवस्थित बाटोले पर्यटकलाई केही कठिनाइ हुने गरेको भए पनि पूर्ववत् अवस्थाको बाटोलाई समय समयमा सम्बन्धित निकायले मर्मत गर्नु पर्ने उनको भनाइ छ। काठमाडौंदेखि फोक्सुडो तालसम्म पुगेर फिर्ता भएका नलगाड ८ का लालबहादुर बस्नेतले आफ्नो अधुरो जीवन तालमा पुग्दा पूर्ण भएको बताए।

उनले भने, ‘कतै फोक्सुडो नपुगेर जीवन नै अधुरो हुन्छ कि भन्ने सोचेको थिए तर पूर्ण भयो मोक्ष प्राप्ति भयो।‘ सडक यातायातको सुविधा क्रमशः विस्तार हुँदै जाला यो नियमित प्रक्रिया हो। तर हाल जाजरकोटको तल्लुबगरदेखि दुनैसम्म सञ्चालन हुँदै आएका जीपहरूको उचित व्यवस्थापन र चर्को भाडादर नियन्त्रणमा  सम्बन्धित निकायको ध्यान पुग्न सके पर्यटकलाई सुविधा पुग्ने ठकुरीको भनाइ छ। यसैगरी, सुलिगाडदेखि तालसम्म सञ्चालनमा रहेका होटलहरूमा मूल्य एकरुपता नभएकाले पर्यटकहरूले चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेकोले मूल्य एकरुपता  व्यवस्थापन तर्फ स्थानीय प्रशासनले ध्यान दिनुपर्ने बस्न्नेतले बताए।

वन वन्यजन्तु, पर्यापर्यटन र प्राकृतिक सम्पदाको दृष्टिकोणले समेत महत्वपूर्ण छ फोक्सुण्डो ताल। हालको सुलिगाडस्थित भीमपुल नजिकको फोक्सुण्डो प्रवेशद्वारमा स्थानीय जनतालाई मात्र अनुमति दिई पर्यटकलाई सदरमुकाम दुनै भएर फोक्सुण्डो जाने आधिकारिक स्थाई रुट तय गर्न सके र फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड हुँदै फोक्सुण्डो तालसम्मका होटल व्यवस्थापन लगायत मूल्य हेरफेरका साथै एकरुपता ल्याउन सके पर्यटकहरूको बसाइको दिन बढेर स्थानीयहरूको आर्थिकोपार्जनमा मद्दत पुग्ने देखिन्छ।

सार्क मुलुक लगायत विदेशी पर्यटकबाट भन्दा पनि आन्तरिक पर्यटकबाट स्थानीयको आर्थिक उपार्जनमा टेवा पुग्ने भएकाले आन्तरिक पर्यटकको डोल्पा बसाइलाई लम्ब्याउन व्यवस्थापकीय पक्षलाई सुधार गर्नु जरुरी भएको सरोकारवालाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.