|

काठमाडौँ : यसअघि वीर अस्पतालमा स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको भनेर आलोचित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत असोज २८ गते घटस्थापनाको बिदाको दिन पारेर न्याम्सको आकस्मिक  सभा (सिनेट) बैठक बसाएर ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरे।

सिनेटको बैठकबाट ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेसँगै एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा खेप्नु परेको आलोचनाबाट जोगिए। तर मन्त्री बस्नेतले सिर्जना गरेका ६३ नयाँ दरबन्दीमा आफ्नो मान्छे घुसाउन कात्तिक १० गतेको मिति राखेर करार सेवामा लिने गरी विज्ञापन निकाले तर त्यो विज्ञापन म्याद सकिने दिन मात्रै सार्वजनिक गरिएको थियो।

कात्तिक १० गतेको मितिमा रहेको उक्त सूचना ७ दिने बनाई १७ गते शुक्रवार कार्यालय समय सकिने बेला दिउँसो ३ बजे नयाँ भवनको भित्तामा टाँसिएको थियो। वीर अस्पतालका एक कर्मचारीले भने‚ ‘मन्त्रीज्युले यो के गर्न लाग्नु भएको हो हामीले बुझ्न सकेका छैनौँ‚ कात्तिक १० गतेको मिति राखेर  ७ दिन सूचना बनाई १७ गते शुक्रवार कार्यालय समय सकिने बेलामात्रै टाँसियो यति धेरै कर्मचारी राख्न एक घन्टामा मात्रै सूचना सार्वजनिक गरियो।’

शुक्रवार ३ बजे सार्वजनिक रुपमा टाँसिएको उक्त सूचनाअनुसार मेडिकल ल्याब टेक्निसियन सातौँ १ जना, ल्याब टेक्निसियन पाँचौँ ५ जना, इलेक्ट्रिसियन चौथो २ जना, प्लम्बर चौथो एक जना, लिफ्ट असिस्टेन्ट चौथो ४ जनाको विज्ञापन गरिएको छ। अझै अचम्मको कुरा के छ भने आइतबार बोलाएर हाल दरखास्त दिएका स्वास्थ्यकर्मीको अन्तर्वार्ता भइरहेको वीर अस्पतालका ती कर्मचारीले बताए।

स्वास्थ्यमन्त्रीको दबाबमा आफ्ना मान्छे नियुक्त गर्न नियमविपरीत विज्ञापन गरिएको भन्दै अस्पतालका कर्मचारीहरुले अन्तर्वार्ता रोकी कारबाहीको माग गर्दै अख्तियारलगायत निकायमा उजुरी गरेका छन्। तर सो उजुरीलाई पनि बेवास्ता नगरी हाल वीरमा दरखास्त दिएका स्वास्थ्यकर्मीको अन्तर्वार्ता भइरहेको हो।

‘स्वास्थ्यमन्त्री मोहन बस्नेत वीर अस्पतालमा आफ्ना मान्छे भर्ना गर्न असोज २१ गते कोभिडका अस्थायी दरबन्दीमा रहेका २२१ जना कर्मचारी हटाएर स्वास्थ्य मन्त्रालयमा ८३१ भन्दा बढी पुल दरबन्दी रिक्त हुँदाहुँदै मन्त्रालयबाट नियुक्ति गर्दा विरोध हुने भएकाले अस्पतालबाटै १३ पदमा कीर्ते विज्ञापनको सूचना जारी भएकाले यसलाई बदर गरियोस्‚‘ कर्मचारीहरुले दिएको उजुरीमा भनिएको छ।

यस विषयमा बुझ्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति (भिसी) प्राडा भुपेन्द्र बस्नेतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन।

वीर अस्पतालमा मूलतः सरकार र प्रतिष्ठान गरी दुई तरिकाले स्वास्थ्यकर्मी राख्ने गरिन्छ। विशेषगरी प्रतिष्ठानका तर्फबाट स्वास्थ्यकर्मी तथा कर्मचारी राख्दा आफ्नो मान्छे घुसाउँदै आइएको छ।

वीरमा प्रतिष्ठानतर्फकf स्थायी तथा अस्थायी गरी ५३५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। उनीहरूको तलबभत्ता वीरको आन्तरिक आम्दानीबाट भुक्तानी गर्नुपर्छ।

सरकार र प्रतिष्ठान दुवै थरिका गरी करिब १६ सयदेखि १७ सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन्। उनीहरूको सेवा विस्तार भत्ता ५० प्रतिशत पनि वीरको आन्तरिक स्रोतबाटै दिने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.