|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन्।​

मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए। उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि पुगेको जिकिर गरे।

उनले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरे पनि जलवायु परिवर्तनको प्रभाव अत्यधिक रहेको बताए। उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका देश रहेको बताए।

उनले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा रहेको पनि बताए।

राष्ट्रपतिले भने, ‘अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा छ। पहाडी संवेदनशील भूबनावट र कमजोर आर्थिक, सामाजिक कारणले हिन्दकुश हिमालय जस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव व्यापक छ। यो अवस्थामा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ।’

सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनजन्य समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र मुद्दा अन्तरराष्ट्रियस्तरमा एकमत भइ उठान गर्न समेत आह्वान गरे। उनले आगामी दिनमा अहिले देखिएका महत्वपूर्ण मुद्दालाई समाधान गर्दै अघि बढ्नुपर्ने बताए।

उनले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झन्डै २ अर्ब नागरिक तथा सामुद्रिक तटका देशलाई समेत साथ लिइ थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.