|

काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ।

समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, समितिको बिहीबारको बैठकमा उपकुलपति नियुक्त हुन ‘स्वदेशी वा विदेशी व्यक्ति’ उल्लेखित शब्दलाई हटाएर योग्य व्यक्ति राख्ने सहमति भएको हो । उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिसम्बन्धी व्यवस्थामा उपकुलपति पदका लागि योग्यता पुगेको स्वदेशी वा विदेशी व्यक्तिले दरखास्त दिने प्रयोजनको लागि सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ। विधेयकको दफा २५ को उपदफा ३ मा सिफारिस समिति अन्तर्गतको सो व्यवस्थालाई समितिले संशोधन गर्ने भएको हो। 

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटा, विमला राई पौड्याललगायतले गैरआवासीय नेपालीले समेत उपकुलपति हुनसक्ने व्यवस्था राख्नुपर्ने बताए। “विदेशको कतिपय चर्चित विश्वविद्यालयमा कुशलतापूर्वक अध्यापन गरिरहेका गैरआवासीय नेपालीले नेपालमा सेवा गर्न सक्ने अवसर विधेयकले खोल्नु पर्छ’, राष्ट्रिय सभा सदस्य देवकोटाले भने।

तर विधेयकको दफा ४५ मा विश्वविद्यालयमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई शिक्षक वा अनुसन्धानकर्ताको पदमा नियुक्त गर्न सकिने उल्लेख छ। दफाले गैरआवासीय नेपालीलाई उपकुलपति हुन बन्देज लगाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.