|

दाङ :  शान्तिनगर गाउँपालिका ५ का मोहन रावत अमेरिका जाने भन्दै  गत साउनमा घरबाट हिँडे।  

दाङको साविक  डुरुवा गाविस ३ की लक्ष्मी डाँगी उनलाई अमेरिका पठाउने भन्दै  पटक पटक गरी २१ लाख लिएर मोहनलाई विगत ८ महिनादेखि फिलिपिन्समा अलपत्र पारेकी छन्। ऋण लिएर छोरालाई पठाएको भन्दै अहिले धेरै समस्या भइरहेको मोहनका बुबाले कमल रावतले बताए।

नेपालबाट फिलिपिन्स हुँदै अमेरिका पठाउने भने आश्वासन दिएपछि छोरालाई गाउँघरमा ऋण लिएर पठाएको भएयता पनि ८ महिनादेखि अलपत्र पार्दा छोराले विदेशमा र मलाई  ऋण लिएको पैसाले समस्या बनाइरहेको उनको भनाइ छ।

यस्तै उनले लक्ष्मीलाई काम नहुने भए, छोरालाई नेपाल ल्याइदिन आग्रह गर्दै आएको भएयता पनि अहिलेसम्म वेवास्ता गरेको समेत बताए। यस्तै तुलसीपुर ९ का कलम वलीलाई अष्ट्रेलिया पठाउने भन्दै लक्ष्मीले १८ लाख लिएर उनलाई पनि फिलिपिन्समा अलपत्र पारेको कमलकी श्रीमती करिष्मा केसी वली आरोप छ।

श्रीमान लगायतका साथीहरूले अहिले निकै समस्या भोगिरहेको भन्दै उनले खाना खाने समेत पैसा नभएपछि घरबाट पठाउँदै आएको बताइन्। 

उनले भनिन्,‘ चिनेको मान्छे भएको हुँदा हामीलाई विश्वास दिलाएपछि १८ लाख बुझाएका थियौँ। तर, अहिलेसम्म मेरो श्रीमान फिलिपन्समा हुनुहुन्छ। लक्ष्मीलाई पटक पटक भन्दा हाम्रो कुरा सुन्ने होइन्। उनले भनेका व्यक्ति र उनका श्रीमानको खातामा मैले पैसा हालिएको हुँ।’

यसैगरी घोराहीकी गीता केसीका छोरा बुहारी पनि फिलिपिन्समा अलपत्र परेका छन्। नेपालबाट जापानको लागि तयारी गर्दा भिसा नलागेपछि लक्ष्मीले सहज रुपमा पठाउने भन्दै आश्वासन दिएपछि  ३० लाख रकम बुझाएको उनले बताइन्।

फिलिपिन्समा अलपत्र परेका आफ्ना छोरा बुहारीलाई उद्धार गरी नेपाल ल्याउन आग्रह गर्दा पनि लक्ष्मीले चासो नदिएको भन्दै यस ठगहरूलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने बताइन्। 

पछिल्लो समय विदेश पठाउने भन्दै आफू जस्ता सोच नागरिकहरू धेरै ठगिएको हुँदा सचेत हुन जरुरी रहेको उनको भनाइ छ।

यस्तै तुलसीपुरका गोपाल खड्का जापानमा पढ्दै आएका थिए । उनलाई पनि अमेरिका पठाउने भन्दै ३२ लाख लिएको गोपालकी आमा खुमा खड्का बताइन्। 

जापानमा राम्रो नभएपछि छोरालाई अमेरिका पठाउने भन्दै लक्ष्मीको विश्वास मानेर पैसा दिएको र अहिले छोरा जापानमा लुकेर बसेको उनको भनाइ छ।

उनले भनिन्,‘ जापानमा राम्रो थिएन। छोराको भविष्यको लागि हामीले अमेरिका पठाउने भन्दै उनको विश्वासमा परेर पैसा दियौँ । अहिले  छोरा जापानमा लुकेर बसेको छ। 

अहिलेसम्म लामो समय भयो, लक्ष्मीसँग सम्पर्क भएको छैन्। उता छोरालाई कलेजले खोजी रहेको छ। यता बैंकले हामीलाई समस्या पारेको छ।’

साबिक दाङको डुरुवा गाविस वडा नं ३ हाल तुलसीपुर १४ निवासी जालान्धर डाँगीको छोरी लक्ष्मी डाँगी (पुजा)  र उनका श्रीमान सञ्जय गुरुङले अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरूबाट करिब १ करोड १७ लाख रकम लिएर युवाहरूलाई फिलिपिन्स लगेर ८ महिनादेखि अलपत्र परेको उनका आफन्तले आरोप लगाएका छन्।

अमेरिका पठाउँने भन्दै दाङका आशिष सुनारबाट १५ लाख, मोहन रावतबाट २१, लाख जापान गएका तुलसीपुर ५ का गोपाल खड्कालाई अमेरिका पठाउँने भन्दै ३२ लाख रुपैयाँ लगेको  आफन्तहरूको भनाइ छ।

त्यसैगरी घोराही १८ का अर्पण केसीलाई जापान पठाउँने भन्दै २५ लाख, अनिशा वलीबाट १५ लाख र तुलसीपुर ९ का कमल वलीलाई अस्ट्रेलिया पठाउँने भन्दै १८ लाख रुपैयाँ लगेको उनका आफन्तले बताएका छन्।

पैसा लगेर विभिन्न बहाना बनाउँदै अहिले डाँगी र गुरुङ सम्पर्क विहीन भएको कमल रावतले जानकारी दिए। डाँगी र गुरुङले विभिन्न बहाना बनाउँदै काम हुँदै छ, भनेर झुक्याएको र पछिल्लो समय विभिन्न किसिमका धम्कीहरू दिन थालेको उनीहरूले बताए। अलपत्र परेका परिवारले जसरी भएपनि उनीहरूलाई नेपाल फर्काउनको लागि पहल गरिदिन आग्रह गरेका छन्।  

कानुन उपचार खोज्नु पर्छ : सांसद डाक्टर शर्मा

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले दाङका केही युवाहरूलाई बन्ध बनाएको भन्ने कुरा आफूले सुनेको भन्दै त्यसका लागि कानुन उपचार खोज्नु पर्ने बताए।  उनले उनीहरूलाई फिलिपिन्सबाट तत्काल सकुशल  उद्धारको लागि  सरकारसँग पहल गर्ने समेत आश्वासन दिए। 

उनले  भने,‘ मलाई यस बारेमा सबै कुराको जानकारी दिनुहोला। यसरी सोझा साझा नेपालीलाई ठग्ने विरुद्ध कानुनी उपचार खोज्नु पर्छ। उनीहरूको उद्धारको लागि म सरकारसँग पहल गर्ने छु।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.