|

सर्लाही : गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।

शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन्।

शनिबार बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका छन्। तनावका कारण बरहथवा बजार दोस्रो दिन शनिबार पनि बन्द छ भने नयाँरोड–बरहथवा सडक खण्डमा सवारीसाधन ठप्प छ।​

यसैबीच जिल्ला प्रशासन कार्यालयमा केही बेरअघि भएको सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको छ। सो निर्णयपछि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितको टोली बरहथवा आउँदै छ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्यकेन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विवादले शुक्रबारदेखि बरहथवा बजार अशान्त बनेको हो। नेपाली काँग्रेस, जसपा, जनमत, लोसपा र बहुजन एकता पार्टी, उद्योग वाणिज्य संघ बरहथवा, स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउनुपर्ने पक्षमा छन्।​

नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित उनको पार्टी नेकपा एमाले भने प्राथमिक स्वास्थ्यकेन्द्र हस्तान्तरण नगर्ने पक्षमा छन्। गत असोज ९ गते नगर कार्यपालिकाले स्वास्थ्यकेन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएकोमा पुस १८ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय तत्काललाई स्थगित गर्ने निर्णय गरेपछि तनाव बढेको हो।

प्रदर्शन चर्किएपछि बरहथवा बजार क्षेत्रमा जिल्ला तथा प्रदेशबाट समेत थप मद्दत टोली मगाएर व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार ढुंगामुढा भएको नगरपालिका कार्यालय र नगरप्रमुख कटुवालको घरमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.