|

काठमाडौं : मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आएपछि मात्रै छैटौँपटक उद्‍घाटन भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पुन: वितरण शुभारम्भ गरेसँगै छैटौँपटक उद्‍घाटन भएको हो।

उपत्यकाभित्र पानी झरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो।

त्यही पानी ०७७ चैत १५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निर्देशक मिलन शाक्य, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा लगायतले एकसाथ चुच्चेपाटीको महांकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरे। 

सोही आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ चैत २० गते भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर औपचारिक उद्घाटन गरिन्।

फेरि त्यही पानी बाढीले गरेको क्षति मर्मतपछि २०७९ वैशाख ११ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे।

त्यसपछि सोही दिन उनै चौधरीले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि बनाइएको नयाँ धाराको टुटी खोलेर वितरणको उद्घाटन गरे। उनै मन्त्री चौधरीले २०७९ मंसिर २३ गते पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए।

तर, यस वर्षको वर्षात सुरु भएपछि पहिलाजस्तो क्षति नहोस् भनी पानी ल्याउन बन्द गरियो। नभन्दै यो वर्षातले पनि आयोजनामा ठूलो क्षति पुग्यो।  यी भएका उद्‍घाटन उपत्यकामा पानी झरेपछि मात्रै भएका हुन्। आयोजनाकै मुहानमा पनि कैयौँपटक उद्‍घाटन भइसकेको छ। 

प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गरेसँगै क्षति मर्मतपछि पुन: मेलम्ची खानेपानी उपत्यकामा वितरण थालिएको छ। उनले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

उनले पानी वितरणको शुभारम्भ गर्दै भने,‘मलाई गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद, वितरणको काम दिगो हुनेछ,१२ महिना ल्याउन यहाँबाट सम्बन्धित निकायलाई निर्देशन पनि दिन्छु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.