यस्तो अवस्थामा मात्रै शल्यक्रियामार्फत बच्चा जन्माउन सल्लाह दिन्छन् चिकित्सक

|

काठमाडौं : कलङ्कीकी २८ वर्षीया सीता शर्मा (नाम परिवर्तन) लाई चिकित्सकले पुसको अन्तिम हप्ता समय तोकेका थिए, तर उनले दोस्रो हप्ता नै बच्चा जन्माइन्, त्यो पनि प्राकृतिक नभई शल्यक्रिया (सिजेरियन) विधिमार्फत। 

पछिल्लो समय गर्भावस्थामा आमाको स्वास्थ्यमा आएको जटिलता तथा आमाको गर्भभित्र हुर्किरहेको शिशुको स्वास्थ्य जटिलता र अन्य विविध कारणले प्राकृतिकभन्दा शल्यक्रिया गरी बच्चा जन्माउने आमाको संख्या बढेको छ। 

देशकै सबैभन्दा धेरै सुत्केरी गराइने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांक हेर्ने हो भने पनि शल्यक्रिया बच्चा जन्माउने महिलाको संख्या बढेको देखिन्छ। प्रसूतिगृहमा गत आर्थिक वर्षमा जन्मेका कुल तीन हजार ५१० शिशुमध्ये एक हजार ७५० जना प्राकृतिकरूपमा जन्मिएका थिए भने एक हजार ३५० बच्चा शल्यक्रियामार्फत जन्मेका थिए। यीमध्ये कम्तीमा ३० प्रतिशत महिलाले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेको अस्पतालको तथ्यांक  छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार पाँचदेखि १५ प्रतिशत बच्चा  शल्यक्रिया विधिमार्फत जन्माउन आवश्यक हुन्छ। यता नेपाल जनसांख्यिक सर्वेक्षण सन् २०२२ ले पनि नेपालमा शल्यक्रियामार्फत बच्चा जन्माउने संख्या बढेको देखाएको थियो। नेपालमा १८ प्रतिशत जीवित जन्म शल्यक्रियामार्फत हुने देखाएको थियो। 

किन बढ्दैछन् शल्यक्रियामार्फत बच्चा जन्माउने आमा ?

प्राकृतिक ‘डेलिभरी’का लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने कारण महिलाले शल्यक्रिया रोज्ने गरेको बताउँछन्, वरिष्ठ स्त्री तथा प्रसूति विशेषज्ञ डा. कीर्तिपाल सुवेदी। ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवतीले बच्चालाई जन्म दिन प्राकृतिक भन्दा शल्यक्रिया नै रोज्ने गरेको समेत उनको भनाइ छ। ‘प्राकृतिकरूपमा बच्चा जन्माउँदा लामो समयसम्म पीडा सहेर बस्नु पर्छ। लामो समयसम्मको प्रसव पीडा सहेर बस्न नचाहने कारण धेरै महिलाले शल्याक्रिया गरी सन्तान जन्माउने गरेका हुन्’, उनले भने, उनले भने, ‘अर्कोतर्फ प्राकृतिकरूपमा बच्चा जन्माउँदा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्यको जोखिम लिन नचाहने कारण शल्यक्रियाको माध्यम मार्फत बच्चा जन्माउने संख्या बढेको हो।’

यस्तै पछिल्लो समय ढिलो विवाह, बढ्दो निःसन्तानपनको कारण बच्चा नै नबस्ने जोखिम बढिरहेको समयमा बल्लतल्ल बसेको बच्चा जन्माउँदा थप जोखिम लिन नचाहने कारण शल्यक्रिया गरी बच्चा जन्माउने दम्पती बढेका हुन्।

यस्तो अवस्थामा मात्रै शल्यक्रियामार्फत बच्चा जन्माइन्छ बच्चा

धेरै ठूलो वा बच्चा आमाको पेटमा उल्टो बसेको अवस्थामा अप्रेसन गर्नुपर्छ। यस्तै, पाठेघरको मुख सानो र बच्चाको टाउको ठूलो भएको अवस्था तथा बच्चा उल्टो, तेर्सो वा अन्य नमिलेको अवस्थामा पनि चिकित्सक शल्यक्रिया रोज्छन्।

बच्चाको मुटुको धड्कन सामान्यभन्दा कम वा बढी भएको अवस्था, साल पाठेघरको मुखमा रहेको, बेथा लगाएर पनि डेलिभरी नभएको वा पहिलेको बच्चा पनि अपरेसनबाट जन्माएको अवस्था र आमाको अस्वाभाविक रूपमा रक्तचाप बढेमा अप्रेसनबाट बच्चा जन्माउनुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँचदेखि १५ प्रतिशत बच्चा  शल्यक्रियामार्फत जन्माउन आवश्यक पर्छ। तर नेपालमा भने १८ देखि ४० प्रतिशत सम्म शल्यक्रियाको माध्यममार्फत बच्चा जन्माइने गरिएको छ। अझै सरकारीभन्दा निजी स्वास्थ्य संस्थामा हुने सुत्केरीमध्ये सबैभन्दा धेरै शल्यक्रियाबाट हुने गर्छ।

‘आमा र बच्चाको स्वास्थ्यको हिसाबले ५ देखि १५ प्रतिशत मात्रै शल्यक्रियाको माध्यमद्वारा बच्चा जन्माए हुन्छ। अरु सबै बच्चालाई प्राकृतिकरूपमा जन्म दिन सकिन्छ। तर हाम्रोमा संस्थागत सुत्केरीको ४० प्रतिशतसम्म शल्यक्रियाको माध्यमद्वारा बच्चा जन्माइएको देखिन्छ’, स्त्रीरोग विशेषज्ञ सुवेदी भन्छन्।

प्राकृतिकरूपमा बच्चा जन्माउन दम्पतीमा भ्रम छ प्राकृतिकरूपमा बच्चा जन्माउदा भविष्यमा थप स्वास्थ्य जटिलता निम्तन्छ भन्ने ठूलो भ्रम हुँदा पनि पछिल्लो समय प्राकृतिकरूपमा भन्दा शल्यक्रिया मार्फत बच्चा जन्माउने आमा बढेका हुन्। ‘प्राकृतिकरूपमा बच्चा जन्माउँदा योनि खुकुलो हुने र भविष्यमा दम्पतीबीच यौन जीवनमा समस्या हुनसक्ने भ्रम धेरै दम्पतीमा रहेको पाइन्छ। यो एकदमै ठूलो भ्रम हो’, उनी भन्छन्, ‘किनभने प्राकृतिकरूपमा बच्चा जन्माउँदा योनि खुकुलो हुने भन्ने सत्य होइन। केही वैज्ञानिक कारण छैन।’

शल्यक्रियमार्फत भन्दा प्राकृतिकरूपमा बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा जटिलता निम्तने सम्भावना कम हुने सुवेदी बताउँछन्। यस्तै प्राकृतिकरूपमा बच्चा जन्माउँदा भविष्यमा दिसापिसाब चुहिने समस्या आउने भ्रम पनि रहेको उनको भनाइ छ। 

अझै शिक्षित र शहरी क्षेत्रमा प्राकृतिक भन्दा शल्यक्रियाको माध्यमबाट बच्चा जन्माउनेहरू धेरै रहेका छन्। जुन तथ्यांक जनसांख्यिक सर्वेक्षणले पनि देखाएको थियो। शल्यक्रिया गरी बच्चा जन्माउनेमा माध्यमिक शिक्षाभन्दा बढी हासिल गरेका ४८ प्रतिशत, सम्पन्न घरपरिवारका ३८ प्रतिशत तथा शहरी क्षेत्रका २२ प्रतिशत रहेको पाइएको थियो। 

कति सुरक्षित छ शल्यक्रिया? 

गर्भावस्थामा मधुमेह,थाइराइडको समस्या भए, बच्चाको तौल चार केजीभन्दा माथि भए चिकित्सकले बच्चा र आमाको स्वास्थ्य जटिलताको जोखिम हेरेर शल्यक्रियाको माध्यमबाट बच्चा जन्माउनु पर्ने अवस्था आउँछ। तर, यदि पहिलो बच्चा अपरेसबाट जन्माइएको हो भने दोस्रो बच्चा प्राकृतिक रूपमा जन्माउन गाह्रो हुन्छ। अप्रेसनद्वारा बच्चा जन्माउँदा पाठेघर पातलो हुने हुँदा अर्को बच्चा पेटमा हुँदा पाठेघर फुट्ने सम्भावना धेरै हुन्छ। यस्तै, धेरै रक्तश्राव हुने र अप्रेसनको वेलामा लगाइने एनेस्थेसियाले पछि शरीर झमझमाउने र शरीरमा संक्रमण हुने सम्भावना धेरै हुन्छ।

यसका साथै अप्रेसन गर्दा आन्द्रा, पिसाब थैली र कहिलेकाहीँ मिर्गौलामा समस्या आउने सम्भावना हुन्छ। पेटभित्रै रक्तश्राव हुने र पछिसम्म पेट दुखिरहने समस्या पनि देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.