छोरी जन्मे खातामै १० हजार

|

गुल्मी : गुल्मीको एक पालिकाले छोरी जन्मे छोरीको खातामा १० हजार रुपैयाँ जम्मा गरिदिने नीति अघि सारेको छ। जिल्लाको कालिगण्डकी गाउँपालिकाले पालिकाभित्र छोरी जन्मिएमा छोरीको खाता खोलेर १० हजार जम्मा गरिदिने नीति लिएको गाउँपालिकाले जनाएको छ।

अहिले छोरीको खाता खोलेर अक्षयकोषको रुपमा १० हजार राखिदिने र उसको खाता रोक्का गरिदिने गरी योजना बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए। 

अहिले राखिदिएको १० हजारबाट १५ वर्षपछि छोरीको नागरिकता बन्दा करिब ४० हजार रुपैयाँ पुग्ने भएकाले उच्च शिक्षा हासिल गर्न थप टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। 

छोरीको नागरिकता बनेपछि छोरीले उक्त रकम निकाल्न पाउने भएकाले अन्य परिवारका सदस्यले निकाल्न नपाउने गरी कुमारी बैंकमा खाता खोल्ने र उक्त रकम जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले कार्यविधि पास भइसकेकाले छोरीको खातामा रकम जम्मा गरिदिन कुनै कानूनी समस्या नभएको बताए।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार छोरी जन्मिँदा समाजमा फरक दृष्टिकोणले हेर्ने कुप्रचलन कायमै रहेकाले त्यसको अन्त्य गर्न यस्तो नीति लिइएको हो।

गत आर्थिक वर्षमा गाउँपालिकाभित्र ४० जना छोरी जन्मिएको स्वास्थ्य शाखाको तथ्याङ्कमा छ। उनीहरुलाई गाउँपालिकाले ५ हजारका दरले उपलब्ध गराएको थियो। सीधै ५ हजार उपलब्ध गराउँदा यसको औचित्य नदेखिएकाले यसलाई अहिले परिमार्जन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

यस आर्थिक वर्षको हालसम्म पालिकाभित्र २० जना छोरी जन्मिएको निवेदन प्राप्त भएकाले १० हजार जम्मा गरिदिने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए।

पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रमअन्तरगत सुत्केरीलाई भेट्न जाँदा भाले कोसेली लिएर भेट्न जाने गरेको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.