|

बागलुङ : अत्यधिक चिसोका कारण बन्द ढोरपाटन नगरपालिका–९ ढोरपाटनका ६ विद्यालय फागुन १ गते मात्रै खुल्ने भएका छन्। गत पुस १५ गतेदेखि बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले जानकारी दिए।

‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्। अब फागुन लागेपछि मात्रै खुल्छन्’, उनले भने, ‘एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ। पहिलेदेखि नै घुम्ती विद्यालय हो। यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि यसैअनुसार सञ्चालन हुन्छ।’

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए। यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउन विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए। ठाउँ चिसो र त्यसमाथि सिमेण्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ।

‘यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ। हिटर अथवा अन्य कुनै न्यायो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ। धेरैजसो बालबालिका सामान्य परिवारका छन्। उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरी पढाउँछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.