|

तुलसीपुर : खेलमैदान बनाउँदा विद्यालयको भवन भत्किएपछि सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरू भदौदेखि टिनको टहरामा पढ्न बाध्य भएका छन्।

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-१ बाघखोरमा रहेको विद्यालयको खेलमैदान बनाउँदा भवन भत्किएपछि यस्तो अवस्था आएको हो।

टिनको टहरामा ४ वटा कक्षाकोठा छन्। गत भदौदेखि यही टहरामा विद्यार्थीहरूले पढ्दै आएका छन्। खुला टहरामा बसेर पढ्दा पढाइमा असर पुग्ने विद्यार्थी इमबहादुर विकले बताए। उनका अनुसार सडक नजिकै रहेको कक्षाकोठामा गाडी हिँड्दा पूरै समस्या हुन्छ। यस्तै उनले एक ठाउँमा ४ वटा कक्षाकोठा हुँदा पनि एक अर्को कक्षामा पढाउँदा समेत समस्या हुने गरेको बताए।

उनले भने, ‘कक्षाकोठा पूरै खुला छन्, हाम्रो कक्षामा पढाइ हुन्छ भने अर्को कक्षामा पढाइ नहुँदा उताका विद्यार्थी हल्ला गरेर पढाइमा समस्या हुन्छ। यो समस्या हामीले भदौदेखि भोग्दै आएका छौँ। न विद्यालयका कक्षाकोठा राम्रा छन्‚ न खेलमैदान नै।’

यस्तै अर्का विद्यार्थी बुद्धिराज विकको पनि उस्तै गुनासो छ। टिनको टहरामा बसेर पढ्न धुलो, हावा लगायतले समस्या हुने गरेको बताए। उनले पानी परेका वेला धेरै समस्या हुने गरेको समेत बताए। उनले पनि टिनको टहरामा बसेर पढ्दा केही नबुझ्ने गरेको भन्दै राम्रो कक्षाकोठामा व्यवस्था हुनुपर्ने बताए। एकदमै विकट क्षेत्र रहेको यस ठाउँमा विद्यार्थीहरू घन्टौँ हिँडेर विद्यालय आउने गरेका छन्।

अभिभावक पनि छैनन् सन्तुष्ट

स्थानीय तथा अभिभावक विपना वलीका अनुसार आफ्ना छोराछोरी करिब एक घण्टा हिँडेर विद्यालय आउँछन्। छोराछोरीहरू लामो समयदेखि टहरामा पढ्दै आएको देख्दा निकै दुःख लाग्ने गरेको उनको भनाइ छ। गाउँपालिकाको पहाडी क्षेत्रमा पर्ने यो ठाउँ सबै कुराले पछि परेको उनले बताइन्।

उनले भनिन्, ‘यो ठाउँ निकै विकट मानिन्छ। विद्युत्‚ सडक, खानेपानी जस्ता समस्या हामीले लामो समयदेखि भोग्दै आएका छौँ। त्यसमा पनि छोराछोरी पढ्ने विद्यालयको अवस्था यस्तो छ। विद्यालयले ध्यान नदिँदा टिनको टहरामा बस्न बाध्य भएको उनको भनाइ छ।

यसैगरी उनले घामपानी लगायत समस्याका विद्यार्थीको पढाइमा समस्या भइरहेको भन्दै तत्काल विद्यालय भवन निर्माण गर्न गाउँपालिकालाई आग्रह गरिन्। यस्तै उनले विद्यालयको पूर्वतर्फ भीर रहेको हुँदा विद्यार्थीहरू खेल्ने क्रममा लड्न सक्ने भन्दै पर्खालको व्यवस्थापन गर्न आग्रह गरिन्।

विद्यार्थी पढाउन समस्या छ : प्रअ केसी

विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीका अनुसार विद्यालयमा खेलमैदान बनाउँदा पुरानो भवनमा असर पुगेको हो। वडाले खेलमैदान बनाउन भनेपछि बिदाको समयमा खेलमैदान बनाउँदा विद्यालयको भवनमा असर पुगेको उनको भनाइ छ। भत्किएको भवनमा विद्यार्थीहरू पढाउँदा जोखिम हुने भएपछि वडा कार्यालयलाई जानकारी गराएर वडाले २५ हजार दिएको र त्यसले टिनको टहरा बनाएर पढाउँदै आएको उनले बताए।

विद्यालयको भवनको बारेमा प्रदेशमा जानकारी गराए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको समेत उनले बताए। विद्यालय कक्षा ८ सम्म पढाइ हुने र अहिले करिब ८५ जना विद्यार्थी रहेको उनको भनाइ छ।

केही दिनअघि मात्र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका गोपाल भण्डारीले भने विद्यालयको भवन लगायत संरचनाको लागि स्थानीय सरकार र प्रदेश सरकार्सम्म जाने बताए। आफू भर्खरै मात्र अध्यक्ष बनेको भन्दै विद्यालयको समस्या लिएर गाउँपालिका र प्रदेश सरकारमा जाने तयारी रहेको बताए।

उनले विद्यालयको भवन भत्किएपछि टिनको टहरामा विद्यार्थीहरू पढ्न बाध्य भएको भन्दै यसका लागि तत्काल पहल गर्ने बताए। यसैगरी उनले खेलमैदान पनि राम्रो नभएको र विद्यालयको वरिपरि पर्खाल नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको समेत बताए।

भवन निर्माण प्रक्रिया अगाडि बढ्यो : अध्यक्ष बस्नेत

गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले विद्यालयको बारेमा आफूलाई पहिला जानकारी नभएको र अनुगमन गर्ने क्रममा थाहा पाएको भन्दै भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको बताए। उनले केही दिनअघि विद्यालयको छड्के अनुगमन गर्न जाँदा विद्यार्थीहरू टिनको टहरामा पढेको देखेको भन्दै उनले त्यो एकदमै दुःखदायी रहेको बताए।

उनले भने, ‘कुनै पनि संरचना बनाउँदा अन्य संरचनाको अवस्था हेरेर बनाउनुपर्छ तर खेलमैदान बनाउँदा विद्यालयको भवन भत्किई लामो समयदेखि विद्यार्थी टिनको टहरामा पढ्दै आएको देखेँ। मैले भवनका लागि प्रक्रिया अगाडि बढाएको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.