|

सर्लाही : सर्लाहीको उत्तरी क्षेत्रमा सयौँ बिघामा लगाएको गोलभेडाको बोट डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। केही दिनदेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।

जिल्लाको हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथान लगायतको स्थानमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्यांग्रिदो चिसो र वर्षाझैं परेको शीत (तुषारो) ले गोलभेडा कुहिन थालेको छ।

‘ठण्डीले सबै बिरुवा डढुवा रोगले मर्दै छ, गोलभेडा कुहिन थालेको छ। ढुसी नाशक बिषादी छरे पनि रोग नियन्त्रण भएको छैन’, हरिवन नगरपालिका–३ डाबरीका ज्ञानबहादुर पुलामीले निरास हुँदै भने। उनका अनुसार यो क्षेत्रमा गोलभेडा खेती गर्ने सबै किसानले यस्तै समस्या भोगिरहेका छन्।

अर्का किसान लालबन्दी नगरपालिका–११ हीरापुरका राममिलन रायले १० कठ्ठामा जमिनमा ५ वर्षदेखि गोलभेडा खेती गर्दै आएका छन्। फल दिएको सुरुका दिनमा राम्रै आम्दानी लिए पनि पुस महिनाको अन्तिम सातादेखि परेको शीतलहरका काण बिरुवामा डढुवा रोगले फल र बिरुवा मरेपछि यो वर्ष लगानी समेत नउठ्ने चिन्ताले पिरोलिरहेको छ’, उनले चिन्तित हुँदै भने।

कृषि ज्ञानकेन्द्र मलंगवा, सर्लाहीका अनुसार लामो समयसम्म चिसो र शीतलहरका कारणले उत्तरी क्षेत्रमा व्यावसायिक रूपमा गोलभेडा खेती गरेका किसान मारमा परिरहेका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण बिषादीले पनि काम नगरेको बताउँछन्।

चिसो र शीतलहरले तापक्रम अत्यन्तै न्यून हुने र वातावरणमा आर्द्रता बढ्दा जमिनमा रहेको ढुसी सक्रिय भई डढुवा रोगको प्रकोप देखा पर्ने कृषि प्राविधिक बताउँछन्। पछिल्लो समय डढुवा रोगको प्रकोपले गोलभेडा, आलु, तरकारी, तेलहन लगायतका बाली नराम्ररी प्रभावित भएको छ।

यता शीतलहरका कारण जिल्लाका मुख्य हाट बजारमा किनमेल गर्न आउने सर्वसाधारणको चहलपहल समेत घटेको व्यापारीहरू बताउँछन्। चिसोका कारण पशुपक्षी लगायत यहाँको जनजीवन प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.